बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताउनुभएको छ । तर उहाँका सल्लाहकारहरुले वार्तामा अझै पनि केही बुँदामाथि विस्तृत छलफल गर्न बाँकी रहेको बताएका छन् ।
विश्वकै दुई ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनले एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । “व्यापार युद्ध” नाम दिइएको दुई मुलुकबीचको तनाबले विश्वको वित्तीय बजारलाई हल्लाइदिएको छ भने उत्पादन क्षेत्रमा मन्दी आएको छ ।
दुबै मुलुकबीचको व्यापार वार्ता सकारात्मक दिशातर्फ उन्मूख रहेको भन्दै राष्ट्रपति ट्रम्पले मार्च १ तारिखको अन्तिम समयसीमालाई बढाउने सङ्केत गर्नुभएको छ । यसअघि डिसेम्बर १ तारिखदेखि फेब्रुअरी अन्तिमसम्मका तीन महिनाभित्र वार्ता गरी आपसी असमझदारी हटाउने दुबै देशबीच सहमति भएको थियो ।
राष्ट्रपति ट्रम्पले मार्च १ तारिखभित्रै नयाँ व्यापार सम्झौता नभए २०० अर्ब मूल्य बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि गर्ने यसअघि घोषणा गर्नुभएको थियो । उक्त समयसीमा आइपुग्न करिब दुई साता मात्र बाँकी छ ।
अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्तिको चोरी तथा जबर्जस्ती प्रविधि हस्तान्तरण गरेको आरोप लगाउँदै आएको छ । साथै, चीनको औद्योगिक नीति संरक्षणमुखी रहेको र विदेशी कम्पनीलाई चीनभित्र प्रतिस्पर्धा गर्न तथा बजार विस्तार गर्न कठिन रहेको एवं व्यापार घाटा बढेको अमेरिकी आरोप छ ।
चीनले भने विश्व व्यापार संगठन (डब्लुटिओ) को स्वीकृत मान्यताविपरीत अमेरिकाले व्यापारमा अबरोध सिर्जना गर्न खोजेको बताउँदै आएको छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०५ फागुन २०७५, १७ : २८
लेखकबाट थप