भगवान जन्माउने मध्यरात : ‘भक्तले नै भष्म पारेपछि...

सफल खबर संवाददाता

शुक्रबार, ०३ फागुन २०७५, १२ : ०६
भगवान जन्माउने मध्यरात : ‘भक्तले नै भष्म पारेपछि...

चितवन । हिजोजस्तो लाग्छ उनलाई गोबरले भगवानको आकृति निकालेको । तर समय जान कति नै बेर लाग्छ र, आज ठ्याम्मै ३० वटा हिउँद कटेछ । जतिबेला उनी ९ वर्षका थिए, गोबरबाट भगवानको अनुहारमात्र जन्माएछन्, शरीर हातखुट्टा त बाँकी नै थियो । त्यो पनि सबैले देख्ने गरेर हो र, लुकेर बारीको पाटातर्फ गएर ।
सूर्य केसी ‘मध्यरात’ले यसरी आफ्नो विगतको संघर्षका दिनहरु सुनाउँदा जोकोहीको मन धुरुक्कै हुन्थ्यो। साविक माडीको अयोध्यापुरी ६ (हाल माडी नगरपालिका ८) मा मध्यरातको बाल्यकाल देवताको अनुहार जन्माएर बित्यो । धेरैको बाल्यकाल हाँसखेलमा बित्छ, तर उनको बाल्यकाल संघर्षमा बित्यो । उनको भगवानको अनुहार जन्माउनमा रुची राख्थे, तर घरछिमेक र आफन्तहरुले अरुची मात्र होइन, उनको कामलाई नियन्त्रण गर्ने सदैव प्रयास हुन्थ्यो, त्यसैले त लुकेर देवताहरु जन्माउँथे मध्यरात । 
हाकै भन्थे उनलाई ‘तल्लो जातका मानिसहरुले गर्छन्, यस्ता मूर्ति बनाउने काम, तैले गर्ने हो ?’ तर खाने मुखलाई कहाँ जुँगाले छेक्छ र ? लुकेर भएपनि देवता जन्माए उनले । बारीको पाटोमा गएर भए पनि देवता बचाए उनले । 
किसानको छोरो । घरमा गाईभैँसी प्रशस्त, गोबरको दुःख नहुने । गोबरबाट लुकीलुकी भगवानहरु जन्माएको ती दिनहरु झल्झली उनको आँखामा आज पनि नाचिरहेका छन् । एसएलसी दिनेबेलासम्म उनले खुलेर भगवान जन्माउन पाएनन्, लुकेर जन्माए कयौँ देवता । 

उनले लुकेर कतिलाई जन्माए त ? उनीसँग ठ्याक्कै सम्झना भएन । तीन जनालाई जन्माएको उनलाई सम्झना आउँछ ती हुन् गान्धी, सरस्वती र विश्वकर्मा । सरस्वतीलाई जन्माउन उनी काँशघारी गएका थिए, सरस्वतीको हत्या हुन्छ कि भन्ने डर थियो, तर भएन । ‘अहिले पनि होलिन् माडीको घरमा सरस्वती’ उनी गुनासिए ।
जन्माउने औजार नपाइने, किन्ने दाम आफूसँग नहुने । कत्रो फसाद । देवता जन्माएर अरुलाई दिएपछि अरुले औजार दिन्थे । कुनै औजार नभएपछि काँटीले जन्माउथेँ भगवान उनले । लुकीलुकी देवता जन्माउँदाजन्माउँदै एसएलसी दिए । अनि देवता जन्माउने कलेज पढ्न गए । कलेज थियो, ललितकला क्याम्पस काठमाडौँ । 
एउटा संकल्प बोकेर २०५५ सालमा काठमाडौँ खाल्डोमा भासिए उनी । घरले त, त्यो जन्माउने कला पढ्नको लागि त कहाँ पठाउनु । उनको फूपूका छोरा थिए, राजु क्षेत्री । उनले लगेर भर्ना गरिदिए मध्यरातलाई । त्यतिबेला त कहाँ मध्यरात हुनु नि, सूर्य केसीमात्र थिए । पेशामा अब्बल भएपछि टाइटल दिएका हुन् मध्यरात । उनी भन्छन्, ‘मध्यरातको जन्म कसरी भयो, यसको पनि आफनै कथा छ ।’
पढ्दापढ्दै उनी जन्माउने कलाकारितामा खप्पीस भए । अब देवता जन्माउने मात्र होइन, अरुलाई जन्माउने कला सिकाउने काममा हिँड्न थाले । आज उनका वरिपरि चेला छन् । जन्माउन थुप्रैलाई जन्माए तर अहिले उनलाई गुरु मान्नेहरु २५ जनाको हाराहारीमा छन् । ‘अरु पढेर सकेपछि गुरु म त पढ्दापढ्दै गुरु’ उनले भने, ‘ललितकला पढ्ने क्रममा विराटनगर, इटहरिमा म तालिम दिन गएको थिएँ । निःशुल्क तालिम दिएँ ।’ 

उनले पढेर स्नातक सके, काठमाडौँमा थुप्रै अवसरका ढोका थिए उनका लागि तर आफ्नै गाउँ फर्कि आए । पहिलाजस्तो कुनै लुक्न परेन अब देवता जन्माउन । स्वागत भयो घरगाउँमा उनलाई । माडीको पर्यटकीय क्षेत्रहरुमा भगवान जन्माउन थाले उनले । अब कमाइ हुन थाल्यो उनको  । पहिलाको जस्तो औजार किन्न पैसा नहुने समस्या हट्यो । 
‘पढेर आएपछि त मेरो माग हुन थाल्यो, पछिला छिछि र दुरदुर गर्नेहरुले बोलाउन थाले’ उनी भन्छन्, ‘माडीका पर्यटकीय क्षेत्रहरुमा देउता जन्माएर अघि बढ्दै गएँ ।’ समयले उनको माग जताततै हुन थाल्यो । अनि उनको बसाइँ माडी नभई भरतपुरको गोन्द्राङ भयो । 
अहिले पनि उनी गोन्द्राङमै छन्, जहाँ थुप्रै जन्मेका देवताहरु पाइन्छ । पछिल्लो चरण जन्माएर राखेका देवताहरु भक्तले नै भष्म पारेपछि उनको मन छियाछिया भएको छ । उनी भन्छन्, ‘भगवान जन्माउन कति गाह्रो छ, भष्म हुन त, बेरै लाग्दैन, मन कटक्क खान्छ, भगवान भष्म भएको देख्दा ।’ 
कृपया !  भगवान सबैका हुन्, भष्मको खेलमा नलाग्नूस्, सक्नुहुन्छ भने बरु जन्माउने हामीजस्तो कलाकारलाई उर्जा थप्नूस्, तर भगवानमाथि धावा नबोल्नूस उनी पटकपटक यही शव्द भन्छन् । ‘भगवानलाई भ्रष्म पारिएको छ, चोरिएको छ, फालिएको छ, त्यसो नगरौँ, माया गरौँ, बचाऔँ’ उनी भन्छन् ।  
काम गर्दागर्दै मध्यरात हुने । जब रात छिप्पिदै जान्छ, उनको कला तिखारिँदै जाने । अनि उनले आफ्नो उपनाम नै मध्यरात राखिदिए । अनि कलाकार मध्यरात भयो । यही नाम नै उनको पहिचान बनेको छ आज । 
उनले भगवानमात्र जन्माएका छैनन् । चितवनलाई चिनाउने वन्यजन्तु पनि जन्माएका छन् । घरेलु हिंसामा परेका महिलाहरु जन्माएका छन् । एकल नारीहरु जन्माएका छन् । चराचुरुङी जन्माएका छन् । लाग्छ, नजन्माएका के नै बाँकी छ र ?
यसपटक चितवन महोत्सवमा उनले बालुवाको माछा जन्माए । झन्डै १२ वर्षअघि त्यही महोत्सवमा गैंडा जन्माएका थिए । हात्ती बाघ भालु जन्माएका छन् । जसले जे माग गर्छन्, त्यही जन्माउन खप्पिस छन् मध्यरात । 
झन्डै एक दशकअघि उनलाई सघाउन उनकी जीवनसंगी चन्द्रकला थापा केशी आइपुगिन् । संगत गुनाको फल भनिन्छ नि, एउटा कलाकारको संगत परेपछि चन्द्रकला थापा पनि के कम, उनी पनि एकसेएक मूर्तिहरु बनाउन सक्ने भएकी छन् । चन्द्रकला भन्छिन्, ‘बलात्कार, हिंसामा परेका महिलाहरुको मूर्ति म आफैँ बनाउँछु, पहिला त सहयोग माग्थे, अहिले त पर्दैन ।’

मध्यरात दम्पति नै अहिले भगवान जन्माउनेदेखि वन्यजन्तुसम्म जन्माउने कलामा जीवन समर्पित गरेका छन् । स्वदेशमा मात्र होइन, मध्यरात जापान, चीन, भारतलगायतका देशमा मूर्ति बनाउन गए । जतिबेला उनी मूर्ति बनाउन देश बाहिर जान्थे, उनलाई दोस्रो अरनिकोको संज्ञा पनि दिएका थिए । 
हरेकलाई जन्माउन उनी सफल भए । पूर्वमा मोरङदेखि पश्चिममा दार्चुलासम्म उनले जन्माएका देवीदेवता र वन्यजन्तु छन् । संसारको झन्डै एक दर्जन देशमा उनको कला पुगेको छ । अब के गर्न बाँकी छ ? 
उनी भन्छन्, ‘अब पहाड नै छेडेर त्यहाँभित्र भगवानहरु जन्माउन मन छ, नेपालका पहाडहरु अनुत्पादक छन्, म के चाहन्छु भने पहाड नै छेडेर त्यहाँ देवीदवेता जन्माउन पाऊँ, भगवान बचाउन पाऊँ । नेपालका अनुत्पादक पहाडहरुलाई पर्यटकीय हब बनाऊँ ।’
राज्यले कलाकार जन्माउन नसकेकोमा उनी चिन्तित छन् । नेपालको कला विश्वमा बिक्छ, तर यहाँको सरकारले त्यतातर्फ ध्यान दिएको छैन । राज्यले कलाकार जन्माएर यहाँको कलालाई विदेशमा लगेर धेरै विदेशी मुद्रा नेपाल भित्र्याउन सक्छ । कलाको माध्यमबाट यहाँको पर्यटकीय क्षेत्रलाई अगाडि बढाउन सरकार लाग्नुपर्ने उनी बताउँछन् । 
फाइबर, सिमेन्ट, माटो, ढुंगा आदिबाट मूर्ति बनाइन्छ, सबैभन्दा गाह्रो ढुंगाको मूर्ति बनाउन हुने उनको भनाइ छ । चट्टानको ढुंगाबाट बनेको मूर्ति दुई हजार वर्षसम्मको आयु हुने उनी बताउँछन् । 
अहिले मध्यरात दम्पति मूर्ति बनाएर दाम, नाम कमाइरहेका छन् । दम्पत्ति भन्छन्, ‘दामसँगसँगै नाम कमाइएको छ, खुसी छौँ । देशलाई केही दिन सकेको अनुभव भइरहेको छ ।’ 

प्रतिक्रिया दिनुहोस