पैसावालको भक्त हुँदा नेपालमा भ्रष्टाचार छायो

सफल खबर संवाददाता

बुधबार, ०१ फागुन २०७५, १७ : २३
पैसावालको भक्त हुँदा नेपालमा भ्रष्टाचार छायो

चितवन । चिकित्सा शिक्षा नीति तर्जुमा गठन गठित उच्चस्तरीय कार्यदलका संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले समाजमा जसले पैसा कमायो उसको भक्त बन्दा भ्रष्टाचार मौलाएको बताउनुभएको छ । 
गणेशमानसिंह अध्ययन प्रतिष्ठान र भ्रष्टाचारविरुद्ध अभियान चितवनले गरेको सुशासनका लागि भ्रष्टाचार नियन्त्रण विषयक चेतनामुलक कार्यक्रममा पूर्व उपकुलपति माथेमाले समाजमा पैसावालको मान, सम्मान र पहुँच बढेको हुनाले सबैजना पैसा कमाउन लागेका र त्यसले भ्रष्टाचार बढाएको बताउनुभयो । 
कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेपाल भ्रष्टाचारमा साउथ एसियाकै तेस्रो राष्ट्रभित्र परेको छ, हाम्रो समाज भ्रष्टाचारीलाई बहिष्कार गर्न सकिरहेको छैन । जसले गर्दा देशलाई भ्रष्टाचारले छपक्कै छोपेको छ ।’
नागरिक समाज सशक्त हुन नसक्दा पनि भ्रष्टाचार मौलाएको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो, ‘अहिले त भ्रष्टाचार गर्न पैसा माग्नै पर्दैन, पार्टीलाई चन्दा देऊ, संघसंस्थालाई सहयोग गर यस्तैयस्तै भ्रष्टाचार गर्ने माध्यमहरु छन् ।’ उहाँले नियमअनुसार काम नभएरै भ्रष्टाचार बढेको बताउनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री नविन्द्रराज जोशीले नेपालमा भ्रष्टाचार थाम्नै नसक्ने गरी बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचारले समाज तहसनहस भइसक्यो, समाजलाई बचाउनपर्ने भयो, यसको इज्जत कायम राख्नुपर्छ ।’ उहाँले नेपालमा नीतिगत भ्रष्टाचार बढेको बताउनुभयो । उहाँले भ्रष्टाचारले गर्दा नेपालमा फेरि अर्को द्वन्द्व निस्कन सक्ने धारणासमेत राख्नुभएको थियो । उहाँले भन्नुभयो, ‘राजनीतिक लिडरहरुमा म सधैँ यही ठाउँमा रहँदैन आएको बेला खाने हो भन्ने भावना हट्नुपर्छ ।’ 
कार्यक्रममा प्रतिष्ठानका सदस्य डा दधि अधिकारीले नेपालमा भ्रष्टाचार, कारण असर र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘करप्सन परसेप्सन इडेक्सको आधारमा गरिएको वरियताक्रममा सन् २००४ मा ९० औं स्थानमा रहेको नेपाल सन् २०१८ सम्म आइपुग्दा १२४ औं स्थानमा झरेको छ । गत वर्षभन्दा यो वर्ष नेपाल अझ २ स्थान तल झरेको छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले वाइडबडी खरिद प्रक्ररण, एनसेल र बुढीगण्डकी प्रक्ररणमा व्यापक भ्रष्टाचार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एक दिनमा हुने काम धेरै दिन लाग्ने, कर्मचारी समयमै नआउने त्यो पनि भ्रष्टाचार हो ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । भ्रष्टाचार विरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्राडा सूर्यकान्त घिमिरे, पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटालगायतले भ्रष्टाचारविरुद्ध मन्तव्य दिएका थिए । 

प्रतिक्रिया दिनुहोस