चौबीसौं जनयुद्ध दिवस विशेष

जनयुद्धको प्रतिफल रक्षा गर्न कम्युनिष्ट पार्टीको एकता

सफल खबर संवाददाता

बुधबार, ०१ फागुन २०७५, १६ : ०६
जनयुद्धको प्रतिफल रक्षा गर्न कम्युनिष्ट पार्टीको एकता

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले महान जनयुद्ध र जनआन्दोलनको प्रतिफल देशले हासिल गरेका उपलब्धीको रक्षा गर्न कम्युनिष्ट पार्टीको एकता भएको बताउनु भएको छ । २४ औं जनयुद्ध एवम् जनआन्दोलन दिवसको अवसरमा बुधबार नेकपा पार्टी कार्यालय चितवनमा भएको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नेता श्रेष्ठले महान शहीदहरूको त्याग, तपस्या र बलिदानको सम्मानमा जनयुद्ध र जनआन्दोलन दिवस मनाउनु अपरिहार्य भएको बताउनु भयो । शहीदले देखेका सपना साकार पार्न सबै जिम्मेवार भएर अघि  बढ्नुपर्ने उहाँको धारणा थियो । नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले शहीदहरूप्रति सम्मान गर्दै जनयुद्ध र जनआन्दोलनको बलमा देशले युगान्तकारी परिवर्तन हासिल गरेको बताउनु भयो । 

कार्यक्रमका विशिष्ट अतिथि नेता ज्ञवालीले शहीदहरूका सपना पूरा गर्नु हामी सबैको सामुहिक दायित्व भएको बताउनु भयो । १० वर्षे जनयुद्ध मुक्तिकामी जनसमुदय र नेपाली कम्युनिष्ट आन्दोलनको एक युगान्तकारी घटना भएको बताउँदै उहाँले यसकै बलमा दुई ठूला कम्युनिष्ट पार्टीको एकतासमेत सम्भव भएको बताउनु भयो  । उहाँले दुईतिहाई शक्ति सहितको कम्युनिष्ट सरकार देशमा समाजवादी राज्यव्यवस्थाको आधारशिला तय गर्दै अगाडि बढिरहेको बताउनु भयो ।

कार्यक्रमकी अध्यक्ष एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले २०५२ साल फागुन १ गतेबाट सुरु भएको महान तथा ऐतिहासिक जनयुद्धको २४ आंै दिवसको शुभकामना व्यक्त गर्नुभयो । जनयुद्धले २०५२ सालमा लिएको लक्ष्य हालसम्म आइपुग्दा साकार हुँदै गैरहेको र बॉँकी कार्यभार आउँदा दिनमा पूरा गर्दै जानु पर्ने उहाँको धारणा थियो । जनयुद्ध तथा जनआन्दोलनका महान शहीदहरूले देखाएको बाटोमा दृढ भएर लाग्नु पर्ने बताउँदै उहाँले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमाओवादी केन्द्र तथा पूर्वएमालेका नेता, कार्यकर्ताहरूले एक आपसमा टीका लगाएर २४ औं जनयुद्ध दिवस मनाएका थिए । कार्यक्रममा सहभागी नेता र कार्यकर्ताहरूले पार्टी एकता ढिला भएकोमा आक्रोश पोखेका थिए । उनीहरुले छिटोभन्दा छिटो तल्लो तहसम्म एकता प्रकृया पूरा गरी नेता र कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिन आग्रह गरेका थिए । कार्यक्रममा चित्रमा जनयुद्ध नामक वृत्तचित्र प्रस्तुत गरिएको थियो । वृत्तचित्रमा युगान्तकारी जनयुद्धमा भएका महत्वपूर्ण घटनाहरूको फोटो तथा घटनाहरु प्रस्तुत गरिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस