गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा जलेर मरे

बुधबार, २३ माघ २०७५, १२ : २३
गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा जलेर मरे

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै रु नौ लाख बराबरको क्षति भएको छ । 

स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार रुपैयाँका दरले छ लाख ५८ हजार र गोठभित्रका अन्य लत्ताकपडा र भाँडाकुडा गरी झण्डै रु नौ लाख क्षति भएको हो । 

गोठमा हुलेका सबै भेडाबाख्रा मरेको भेडा कृषक कैलो बुढाले बताउनुभयो । रातिको समयमा घरमा बालिएको आगो सल्केर भेडीगोठसम्म पुग्दा आगलागी भएको हुनसक्ने उहाँको भनाइ छ । 

बुढाका अनुसार ९० वटा भेडा र बिसे कामीका चार वटा भेडाबाख्रा आगोले जलेर मरेका हुन् । वनबाट चराएर ल्याएका भेडाबाख्रा गोठमा हुलेको अवस्थामा आगलागी हुँदा ती भेडाबाख्रा पूर्ण रुपमा जलेर मरेको पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले बताउनुभयो । मयलाल कामीको घरमा बालेको आगो सल्केको हुनसक्ने उहाँको भनाइ छ । 
बुढा र कामीका भेडाबाख्रा सधैँ एउटै गोठमा हुल्ने गरिएको थियो । भेडाबाख्रा पालन व्यवसाय गर्दै आएका किसानका सबै भेडाबाख्रा जलेपछि हातमुख जोड्न समस्या हुने पीडित किसान कैलो बुढाले गुनासो गर्नुभयो । आयस्रोतको मुख्य आम्दानीका रुपमा पालिँदै आएका भेडा बाख्रा नष्ट हुँदा निकै ठूलो समस्यामा परेको उहाँको भनाइ छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस