पोखरा । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शहीदको बलिदानीकै कारण आजको पुस्ताले स्वतन्त्रताको उपभोग गर्न पाएको बताउनुभएको छ ।
शहीद हरिप्रसाद गुरुङ स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा उहाँले अमर शहीदले गरेको सङ्घर्ष र योगदान चिरकाल पर्यन्त बाँचिरहने बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गुरुङजस्ता धेरै शहीदले ज्यानको आहुति गरेको स्मरण गर्दै शर्माले उहाँहरूको योगदानलाई पार्टीले सधैँ उच्च मूल्याङ्कन गर्ने र देखाएको बाटोमा आफूलाई निरन्तर क्रियाशील बनाउने बताउनुभयो ।
काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, पूर्वमन्त्री यज्ञबहादुर थापा, क्षेत्रीय सभापति पोषनाथ शर्मा लगायतले शहीद हरिप्रसाद गुरुङले प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा गर्नुभएको योगदान युगौँयुगसम्म बाँचिरहनेमा जोड दिनुभएको थियो ।
देशमा २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि त्यसका विरुद्धमा सक्रिय गुरुङलाई २०१८ सालमा तत्कालीन शासकले आजकै दिन अत्यन्तै अमानवीय क्रूर ढङ्गले हत्या गरेको दिनलाई सम्झँदै प्रत्येक वर्ष स्मृति दिवस एवम् श्रद्धाञ्जलिसभा मनाउँदै आइएको छ । रासस
प्रतिक्रिया दिनुहोस