राजस्थानी ऊँट बागलुङ महोत्सवको आकर्षण

विहीबार, २७ पुस २०७४, १७ : ४०
राजस्थानी ऊँट बागलुङ महोत्सवको आकर्षण

बागलुङ । ‘माया जहिले रिसाउनी’ गीतको लयमा ऊँटले खुट्टा र शरीरको चाल मिलाएपछि सबै दङ्ग देखिन्थे । जीवनमा कहिल्यै ऊँटै नदेखेका त झन् ‘उँटको नाच’ हेरेर आश्चर्यमा परे ।  भारतको राजस्थानदेखि दुई हजार ५ सय ५५ किमी यात्रा तय गरेर यहाँ ल्याइएको ऊँट हेर्ने मौका सजिलै मिलेको भने होइन ।

मरुभूमिमा पाइने ऊँटलाई चिसो हावापानीयुक्त पहाडी भूमिमा देखाउने आँट बागलुङ उद्योग वाणिज्य संघले गरेको हो । ‘सोनु’ नाम गरेको साढे ४ वर्षको ऊँट बागलुङ महोत्सवको मुख्य आकर्षण बन्यो ।

दर्शकले ऊँटलाई हेरेनन् मात्र ऊँटलाई छोए र ऊँटको नाच तथा अभिनयमा लोभिए पनि । नाम र तस्बीरमा मात्र सुने, देखेको जनावर प्रत्यक्ष देख्न पाउँदा सर्वसाधारण उत्साहित बने । मरुभूमिको ऊँट आफ्नै ठाउँमा देख्न पाउँदा रमाइलो लागेको बागलुङ नगरपालिका–२ का उषा पौडेलले बताए ।

‘बिजी ग्रुप’का सञ्चालक शिवलाल गौतममले वैधानिक रुपमा पहिलो पटक आफूहरुले ऊँट नेपाल भित्र्याएको दाबी गरे । २ वर्षअघि राजस्थानबाट ल्याएको ऊँटलाई व्यावसायिक रुपमा प्रदर्शन गर्ने गरिएको उनको भनाइ छ । ऊँटलाई नेपाल ल्याउँदा करिब रु १० लाख खर्च भएको गौतमले बताए ।

बागलुङ महोत्सव सकिएलगत्तै उक्त ऊँट अहिले चितवनको गैडाकोटमा आयोजित महोत्सवमा पुगेको छ । मेला, महोत्सवबाट आउने मागले आगामी चैतसम्म ऊँटको कार्यतालिका व्यस्त रहेको अर्का सञ्चालक जीवन पँगेनीले बताए ।

“जताततैबाट माग आउने गरेको छ, हामीलाई भ्याइनभ्याई छ”, उनले भने । महोत्सवमा ऊँट राख्दा दर्शकलाई आकर्षित गर्न सकिने हुँदा आयोजकबाट बढी माग आउने गरेको उनको भनाइ छ । महोत्सवमा रु ५० मा टिकट काटेर ऊँट हेर्न पाइने व्यवस्था मिलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस