दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

मंगलबार, १५ माघ २०७५, १५ : ०५
दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

खोटाङ । विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानालाई आर्थिक सहयोग जुट्न थालेको छ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर दुवै हात र एउटा खुट्टा गुमाउनुभएका उहाँकोे बिचल्ली भएको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सहयोग रकम जुट्न थालेको हो । 

ढुङगानाका लागि युट्युव सञ्चालक शिशिर भण्डारीको पहलमा गलकोट समाज जापानबाट सङ्कलित रु चार लाख, हङकङमा रहनुभएका माल्बुल प्रेमी र साथीबाट सङ्कलित रु ४५ हजार, काठमाडौँका लीला घिमिरेको पहलमा कर्मचारीलगायत अन्य व्यक्तिबाट सङ्कलित रु ६१ हजार ७०० र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले पनिरु ५० हजार परिवारलाई प्रदान गर्नुभएको आफन्त झमप्रसाद आचार्यले बताउनुभयो । 

एघार केभी क्षमताको विद्युत् लाइन मर्मत गर्ने क्रममा विसं २०७० चैत १६ गते ३७ वर्षीय हरिकाजीलाई करेन्ट लागेर अपाङ््ग भएपछि आश्रित बुबाआमा र बालबच्चाको बिचल्ली भएको थियो । हरिकाजीका हातगोडा फालिएपछि उहाँका कामाइमा आश्रित सबै परिवार सहाराविहीन बनेका समाचार सार्वजनिक भएको थियो । 

अहिले उनीहरुको घरमा चुल्हो बाल्नसमेत धौधौ परेको छिमेकीहरू बताउँछन् । हरिकाजीको उपचारका क्रममा लिइएको ऋण फिर्ता माग्नेहरु अहिले दैनिकजसो घरमा आउने गरेको श्रीमती सीता ढुङ््गानाले बताउनुभएको छ । 

उहाँको उपचारको क्रममा अहिलेसम्म रु ३७ लाखभन्दा बढी खर्च भएकामा विद्युत् प्राधिकरणले रु २६ लाख उपलब्ध गराएको थियो । करेन्ट लागेर बेहोस बन्नुभएका हरिकाजीलाई उद्धारपछि उपचारका लागि तत्कालै काठमाडौँ लगिएको थियो । 

काठमाडौँको बिएण्डबी अस्पतालमा उपचार गराइएको उहाँकोे सन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए । दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले साढे तीन वर्ष पुगेको छ भने पहिलो छोरी ११ वर्षकी छिन् । बुबाआमा दुवै ८५ वर्ष नाघेका हरिकाजीका सम्पत्तिको नाममा केही पाखो बारीमात्र छ । 

उहाँलाई सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक ललितपुर शाखाको ११२००२१९७३१० नं.को बचत खाता उपलब्ध गराइएको छ । 

दुवै मिर्गौला रोगी झलकमानको उपचार गर्न आर्थिक सहयोगको याचना 
दुवै मिर्गाैला काम नलाग्ने भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकमान तामाङले उपचारका लागि आर्थिक सहयोगको याचना गर्नुभएको छ । 

जीवन मरणको दोसाँधमा पुग्नुभएका ३३ वर्षीय उहाँले अस्पतालको श्ययाबाटै सो याचना गर्नुभएको हो । डायलायसिसमा बसेका बिरामीले विशेष औषधि (इपिओ), अस्पताल आवतजावत, अन्य औषधिमा धेरै खर्च लाग्ने आर्थिक अवस्था नाजुकु भएकाले ‘झलकमान बचाउ अभियान’ मार्फत सहयोगका लागि आग्रह गरिएको हो । 

लामो समयदेखि बिरामी पर्नुभएका उहाँको मिर्गौला डायलासिस गराउँदा दुई पटकमा रु छ हजार खर्च हुने गरेको छ । कमाइ गर्ने मान्छे झलकमान आफँै ओछ्यान लागेपछि श्रीमतीसहित छोराछोरीको विचल्ली भएको आफन्तले बताएका छन् । 

आफ्नै कमाइमा परिवार पाल्नुपर्ने झलकमानको श्रीमतीको टाउकामा नशासम्बन्धी समस्या भएकाले नियमित औषधि सेवन गरिरहनुपर्ने उहाँकी बहिनी प्रतिमा तामाङले बताउनुभयो । 
विशेषज्ञका अनुसार भलकमानलाई डायलासिस गराउन मासिक रू ३५ हजारसम्म खर्च लाग्ने छ भने नेपालमै मिर्गौला प्रत्यारोपण गर्दा रु पाँच लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गरेमा सोभन्दा बढी खर्च लाग्न सक्छ । 

डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु¥याइ झलकमानको जीवन जोगाउन सबैको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । उहाँलाई सहयोग गर्न चाहनेले ९८०८४६०६१७ र ९८६०२०९८०९ मा सम्पर्क गरेर वा प्रभु बैंकमा खोलिएको बैंक खाता नं ०४२०१००११८९८६१०००००१ मा जम्मा गर्न सक्नेछन् । 

झलकमानको उपचारका लागि अहिले देशविदेशमा रहेका आफन्तसँग सहयोग रकम सङ्कलन गर्न थालिएकामा मलेसियाबाट रु ५२ हजार ४४३ र मलेसियामा रहनुभएका खार्मी साब्रुका रञ्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ भन्दा बढी दाताबाट रु ५२ हजारसङ्कलन भएको प्राप्त भएको बिरामीका आफन्त सुवास तामाङले बताउनुभयो । कतारमा पनि सहयोग रकम सङ्कलन हुन थालेको आफन्तले बताएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस