मुस्ताङमा हिमपात

न विद्युत् न सञ्चार, पर्यटक कागबेनीमै अलपत्र

मंगलबार, १५ माघ २०७५, १० : ४२
न विद्युत् न सञ्चार, पर्यटक कागबेनीमै अलपत्र

मुस्ताङको सदरमुकाममा जमेको हिउँ पन्छाएर यातायात सुचारु गदै नेपाल प्रहरीका जवानहरु । तस्वीर : निरज थकाली/रासस

– निरज थकाली

मुस्ताङ l हिमाली जिल्ला मुस्ताङको उप्पलो मुस्ताङ, लेते, कैशाङ र मुक्तिनाथ क्षेत्रमा पुन: हिउँ परेको  छ । एक सातादेखि थासाङ गाउँपालिकामा हिउँ पर्न शुरु भएको थियो । हिमपात पश्चात गत शुक्रबारदेखि विद्युत् र सञ्चार सेवाबाट थासाङ गाउँपालिका वञ्चित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख हुमबहादुर भुजेलले विद्युत्को समस्याले गर्दा सञ्चारमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार हिउँ परेपछि विद्युत् नहुँदा टावर सञ्चालन गर्न सकिएको छैन । थासाङसँगै बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकका केही वडामा टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत् र सञ्चार सेवा नभएकोले थासाङ गाउँपालिकाको पर्यटकीय गन्तब्य सेकोङ ताल, टिटी ताल, नाउरीकोट, गुरुसाङबो गुफा, घुम्न आउने पर्यटक, कृषक कार्यालय तथा होटल व्यवसायीलाई विशेष मर्का परेको थासाङ गाउँपालिकाका–२ का वडा अध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिनुभयो ।

जोमसोम विमानस्थलको हिउँ पग्लिए पनि लेते र मुक्तिनाथमा हिउँ परेको कारणले हवाइ उडान नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय निमित्त प्रमुख विशाल बरुनले बताउनुभयो । भारी हिमपातले लगातार तीन दिनबाट जोमसोम विमानस्थलमा हवाई उडान नभएको बरुनले बताउनुभयो । पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो ।

लगातारको हिमपातका कारण विश्व प्रसिद्ध मनाङ हुँदै ५,४१६ मिटरको थोरङला पास गरेर मुस्ताङ आउने पर्यटकहरू मुस्ताङ आउन नसकेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसी दाहालले बताउनुभयो । भारी हिमपातका कारण उपल्लो मुस्ताङ घुम्न आएका दूई अमेरिकी पर्यटक र जापनी पर्यटक कागबेनीमै अलपत्र परेको दाहालले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस