बर्दिवास । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वर्तमान सङ्घीय सरकार कृषि क्षेत्रका सम्भावना बढाउँदै जनता प्रत्यक्ष लाभान्वित हुने काममा केन्द्रित रहेको बताउनुभएको छ ।
आज महोत्तरीको बर्दिवास नगरपालिका–६ कृष्णपुरमा थोक कृषिबजार तथा कृषि प्रवद्र्धन केन्द्र स्थापनाको सम्भाव्यताबारे स्थलगत निरीक्षण गर्न पुग्नुभएका मन्त्री खनालले सरकार कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनेतर्फ योजनाबद्धरुपमा लागेको बताउनुभयो । सरकारले मुलुकका सातै प्रदेशमा थोक कृषिबजार स्थापना गर्ने निर्णय गर्दै सोका लागि ठाउँ छनोट गर्ने, डिपिआर बनाउने र तत्काल निर्माण थाल्ने योजना अघि बढाएको मन्त्री खनालले बताउनुभयो ।
“सरकार अब कुनै जग्गा बाँझो राख्न नहुने गरी योजना बनाउनमा जुटेको छ”, उहाँले भन्नुभयो । सरकार उत्पादित फसलको सुनिश्चित बजार व्यवस्थापनमा जुटिसकेको मन्त्री खनालको भनाइ थियो । मन्त्री खनालले आजै बर्दिवास–६ कृष्णपुरमा यसै शैक्षिकसत्रदेखि सञ्चालनमा आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेजको अवलोकन गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस