सरकारले पन्ध्र वर्षमा बेचेका पन्ध्र सार्वजनिक संस्थानको अवस्था : केही बन्द, केही सञ्चालनमा, अधिकांश नाफामा

सफल खबर संवाददाता

शनिबार, १२ माघ २०७५, १४ : ०३
सरकारले पन्ध्र वर्षमा बेचेका पन्ध्र सार्वजनिक संस्थानको अवस्था : केही बन्द, केही सञ्चालनमा, अधिकांश नाफामा

काठमाडौं । विगतमा सरकारले पन्ध्र वर्षमा बेचेका पन्ध्र वटा सार्वजनिक संस्थानमध्ये अहिले अधिकांश नाफामा चलेका छन् भने केही बन्द भइसकेका छन् । तत्कालीन सरकारले २०५९ साल कात्तिकमा पहिलो पटक भृकुटी कागज कारखाना निजी क्षेत्रलाई बेचेको थियो । पछिल्लो पटक सरकारले २०६४ साल पुसमा नेपाल दूरसञ्चार कम्पनी बेचेको थियो ।

तत्कालीन सरकारले २०४९ साल कात्तिक ५ गते भृकुटी कागज कारखाना २२ करोड ९८ लाख रुपैयाँमा बिक्री गरेको थियो । भृकुटी कागज कारखाना हाल बन्द अवस्थामा छ । २०४९ साल कात्तिक १४ गते सरकारले २१ करोड ४८ लाख रुपैयाँमा बिक्री गरेको हरिसिद्धि इँटा टायल उद्योग पनि अहिले बन्द अवस्थामा छ । सोही वर्ष कात्तिक २४ गते दुई करोड ९८ लाख रुपैयाँमा बेचिएको बाँसबारी छाला जुत्ता उद्योग अहिले सम्पर्कविहीन अवस्थामा छ ।

२०५० साल कात्तिक २६ गते चलचित्र विकास कम्पनीको ५१ प्रतिशत शेयर ६ करोड ४६ लाख रुपैयाँमा बिक्री भएको थियो । अहिले सञ्चालनमा रहेको चलचित्र विकास कम्पनी नाफामै रहेको बताइन्छ । २०५० साल मंसिर १७ गते ७० प्रतिशत शेयर एक करोड ७७ लाख रुपैयाँमा बिक्री गरिएको बालाजु कपडा उद्योग हाल बन्द छ । सोही वर्ष मंसिर २८ गते ३९ लाखमा बिक्री गरिएको काँचो छाला संकलन तथा बिक्री केन्द्र पनि अहिले बन्द छ ।

२०५१ साल जेठ २२ गते तीन करोड १० लाखमा बिक्री भएको नेपाल ल्युब आयल अहिले नाफामा चलिरहेको छ । २०५१ साल असार ७ गते एक करोड ७१ लाख रुपैयाँमा बिक्री भएको बिटुमिन तथा ब्यारेल उद्योग पनि अहिले नाफामा चलिरहेको छ । २०५२ साल चैत १२ गते ५१ प्रतिशत शेयर एक करोड ४४ लाखमा बिक्री भएको नेपाल ढलौट उद्योग अहिले नाफामा छ । २०५३ साल साउन ३० गते आठ करोड २२ लाखमा ६५ प्रतिशत शेयर बिक्री गरिएको रघुपति जुट मिल्स अहिले सञ्चालनमा छ ।

नेपाल चिया विकास निगमको ६५ प्रतिशत शेयर २०५७ साल असार १४ गते २६ करोड ७१ लाख रुपैयाँमा बिक्री गरिएको थियो । निगम अहिले नाफामा छ । बुटवल पावर कम्पनीको ७५ प्रतिशत शेयर ८७ करोड ४२ लाख रुपैयाँमा २०५९ साल पुस १९ गते बिक्री भएको थियो । यो कम्पनी पनि अहिले नाफामा चलिरहेको छ । २०६० साल पुस २२ गते एक करोड ४५ लाखमा बिक्री भएको भक्तपुर इँटा तथा टायल उद्योग समेत नाफामै छ । २०६३ साल असोज २१ गते दश प्रतिशत शेयर १२ करोड ५१ लाखमा बिक्री भएको नेपाल बैंक लिमिटेड नाफामै चलिरहेको छ ।

२०६४ साल पुस ६ गते आठ दशमलव ५३ प्रतिशत शेयर चार अर्ब २६ करोड रुपैयाँमा बिक्री भएको नेपाल दूरसञ्चार कम्पनी समेत नाफामै छ । सरकारले निजीकरणको नीति लिएर निजी क्षेत्रको हातमा बिक्री गरेका सार्वजनिक संस्थान बिक्री वापत आएको रकम सबै सरकारी कामकाजमा खर्च भएको पाइन्छ । निजीकरणले देशलाई फाइदाभन्दा घाटा बढी भएको पाइएपछि पछिल्लो समयमा सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई बिक्री गर्ने काम रोकेको छ ।

प्रतिक्रिया दिनुहोस