चितवनमा दुई नयाँ प्रजातिका चरा

बुधबार, ०९ माघ २०७५, १० : ५०
चितवनमा दुई नयाँ प्रजातिका चरा

– सुरेन कुँवर/कृष्ण आचार्य 
चितवन । चितवनमा पछिल्ला केही वर्षदेखि नदेखिएका दुई प्रजातिको चरा यस वर्ष भेटिएका छन् । चितवनमा १६ दिन लगाएर गरिएको चरा गणनाका क्रममा पूर्वी चितवन क्षेत्रमा र कसरा क्षेत्रमा दुई प्रजातिका नयाँ चरा भेटिएका हुन् । 

‘ग्रेट ह्वाइट फ्रन्टेड गुस’ र ‘राजा गङ्गा चिल’ नाम गरेका दुई वटा नयाँ प्रजातिका चरा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा भेटिएको वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । मकवानपुरको सामरी खोलादेखि चितवनको कसरा पुलसम्मको सीमसार क्षेत्रमा गरिएको चरा गणनाका क्रममा चितवनमा २१७ प्रजातिका ११ हजार २२ वटा चरा गणना गरिएको विडारीले बताउनुभयो । 

गणना गरिएका चरामध्ये पानीमा आश्रित मात्रै ५० प्रजातिका आठ हजार ४८० रहेका छन् । चितवनमा सबैभन्दा बढी चखेवा प्रजातिका चरा भेटिएका छन् । विडारीका अनुसार यस वर्ष चार हजार ४८० वटा चखेवा भेटिएका हुन् । यो सङ्ख्या गत वर्षको भन्दा एक हजार ६३१ वटा बढी हो । 

चितवनको बुढी राप्ती, ढुङ्ग्रे खोला, बीस हजारी ताल, लामीताल, तमोर ताल, कुमाल ताल, दिव्यनगरको फार्मल्याण्ड वर्डस्लगायतका क्षेत्रमा चराको गणना गरिएको थियो । बर्ड एजुकेशन सोसाइटी चितवन, हिमालय नेचर, नेपाल पंक्षीविद् सङ्घलगायत संस्थाका ४० भन्दा बढी व्यक्ति चरा गणनामा सहभागी थिए । 

चितवनसहित विश्वभरि नै जनवरी ५ तारिखदेखि २० तारिखसम्म चरा गणना गरिएको थियो । मानवीय कारणले नदीमा प्रदूषणको मात्रा बढ्दै जाँदा चराको वासस्थानमा असर परेको चराविद् टीका गिरीले बताउनुभयो । 

जल प्रदुषण रोक्नका लागि आजैदेखि पहल गरिएन भने भविष्यमा चराको अस्तित्व नै सङ्कटमा पर्न सक्ने गिरीको भनाइ छ । 
विश्वमा सन् १९६७ देखि शुरु भएको चरा गणना चितवनसहित नेपालका विभिन्न भागमा सन् १९८७ देखि शुरु भएको थियो । विश्वमा पाइने चरामध्ये नेपालमा नौ प्रतिशत चरा भेटिएका छन् । नेपालमा ८८७ प्रजातिका चरा भेटिएकामा चितवनमा मात्रै ६३७ प्रजातिका चरा छन् । 

पानीमा आश्रित चराको सङ्ख्या वृद्धि 
चितवन, नवलपरासी र हेटौँडाको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा पानीमा आश्रित चराको सङ्ख्या बढेको पाइएको छ । जनवरी ५ गतेदेखि २० गतेसम्म यहाँ गरिएको चरा गणनाबाट पानीमा आश्रित चराको सङ्ख्या बढेको पाइएको हो । 

चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ विडारीले यस वर्ष जलेवा र चखेवाको सङ्ख्या बढेको बताउनुभयो । यो क्षेत्रमा अघिल्लो वर्ष ४८ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटक दुई प्रजाति बढेर ५० प्रजातिका चरा फेला परेको विडारीले बताउनुभयो । यस वर्ष थप भेटिएका चरामा राजा गङ्गा चिल र ग्रेट ह्वाइट फ्रन्टेड रहेका छन् । 

दुई वर्षअघि कसरा पश्चिम क्षेत्रमा फेला परेका यी चरा यस वर्ष कुमरोज सामुदायिक वनको सिमसार क्षेत्रमा फेला परेका हुन् । ६३७ प्रजातिका चरा अभिलेख गरिएकोमध्ये ५० प्रजातिका मात्रै फेला परेको हो । 

विडारीका अनुसार हाँस प्रजातिका चरा कम फेला परेका छन् । उहाँले सबैभन्दा धेरै चखेवाको सङ्ख्या एक हजार ६३१ वटा बढेको बताउनुभयो । गत वर्ष दुई हजार ९४९ वटा चखेवा फेला परेकामा यस वर्ष चार हजार ४८० र जलेवा एक हजार २६५ वटा फेला परेको बताइएको छ । 

गणनाका क्रममा पानीमा आश्रित चराको सङ्ख्या आठ हजार ४९६ वटा चरा फेला परेको थियो । विडारीको टोलीले हेटौँडाको सामरी खोलादेखि कसरासम्मका तालतलैया, राप्ती नदी, ढुङ्गे खोला, दिव्यनगरको फार्मलाइन क्षेत्रमा चरा गणना गरेको थियो । 

यस्तै नारायणी नदीको दुवै भङ्गालो (सिख्रौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणीसम्म गरिएको चरा गणनामा पनि दुई प्रजातिका नयाँ चरा फेला परेका छन् । सिमसार पंक्षी गणना पश्चिम क्षेत्र संयोजक डिबी चौधरीले यस वर्ष ४१ प्रजातिका चरा फेला परेको बताउनुभयो । 

सो क्षेत्रमा गत वर्ष ३९ प्रजातिका चरा भेटिएका थिए । गत वर्ष सात हजार २१४ पानी चरा भेटिएको सो क्षेत्रमा यस वर्ष आठ हजार ५८७ चरा फेला परेको चौधरीले बताउनुभयो । 

जाडो छल्न आउने चरालाई लक्षित गरेर यो समयमा चरा गणना गर्ने गरिएको छ । पानी चराको वासस्थान प्रदूषित बनेको र सिमसार क्षेत्रमा पानी सुकेका कारण पानीमा आश्रित चराको वासस्थान सङ्कटमा परेको गणनामा सहभागी चराविद्ले बताएका छन् ।  (रासस) 

प्रतिक्रिया दिनुहोस