मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

एजेन्सी

सोमबार, ०७ माघ २०७५, १३ : ०३
मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेक्सिको सिटी । मेक्सिकोको मध्य क्षेत्रमा गत शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ८५ पुगेको छ । 
घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेर ८५ पुगेको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

यस घटनामा परी ८५ जनाको मृत्यु हुनुको साथै अन्य ५८ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्री जोर्गे एल्कोसेरले बताउनु भएको छ । 

घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिको भने मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको मन्त्री जोर्गेले जानकारी दिनु भएको छ । 

स्थानीय समयानुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो । 

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । 

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नु बाहेक अरु विकल्प नभएको उहाँले बताउनु भएको छ । 

स्थानीय सरकारी अधिकारीका अनुसार पाइपलाइन विस्फोट भएको अवस्था करिब छ सयदेखि आठ सयसम्म स्थानीय बासिन्दा भेला भएका बताइएको छ । (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस