विश्वका सवैभन्दा वृद्ध मानिस मासाजो नोनाकाको निधन

एजेन्सी

सोमबार, ०७ माघ २०७५, ११ : ०३
विश्वका सवैभन्दा वृद्ध मानिस मासाजो नोनाकाको निधन

टोकियो, जापान l विश्वका सवैभन्दा वृद्ध मानिस मासाजो नोनाकाको आइतबार निधन भएको छ । विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई बर्ष पछि जन्मेका नोनाकाको ११३ बर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उहाँको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो । गत बर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।

“हामीलाई विश्व प्रसिद्ध जापानी नागरिक नोनाकाको निधनले दुःखी तुल्याएको छ । उहाँ शनिबारसम्म सामान्य जीवन विताइरहनुभएको थियो । परिवारका सदस्यलाई समेत कुनै बोझ नबनीकन आइतबार देहत्याग गर्नुभएको छ,” उहाँकी नातिनी युकोलाई उद्धृत गर्दै क्योदो समाचार समितिले जनाएको छ । छ भाइ र एक बहीनीकी धनी नोनाकाले सन् १९३१ मा विवाह गर्नुभएको थियो । कालान्तरमा उहाँ पाँच सन्तानका बाबु बन्नुभएको थियो ।

उहाँले आफ्नै गाउँमा ‘हट स्प्रिङ इन’ (होटेल) सञ्चालन गर्नुभएको थियो । उहाँकोे जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुश्ती हेर्ने र मिठाइ खाने सोख रहेको पारिवारिक स्रोतले बताएको छ । सामान्यतया जापानीहरूको दीर्घ जीवन हुने गर्दछ । विश्वका धेरै बर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिकको सूची रहेको बताइने गरिन्छ । जापानी नागरिक जिरोमी किमुरा, जसलाई सबैभन्दा धेरै बाँच्नेमध्येका व्यक्तिका रूपमा मानिन्छ, को ११६ बर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो । प्रमाणित रूपमा इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्टको सन् १९९७ मा १२२ बर्षको उमेरमा निधन भएको थियो । (एएफपी/रासस)

प्रतिक्रिया दिनुहोस