मानिसको जीवन एउटा विचित्रको यात्राजस्तो छ । कहिले उकाली, कहिले ओराली, कहिले खुसी, कहिले निराश । जीवनमा सोचेजस्तो र चाहेजस्तो सधैँ सबैलाई कहाँ पुग्छ र ! पुगेन भनेर चिन्ता लिनु, जीवन बेकार, निरस र बोझिल बन्नु, अरूको सफलतामा प्रोत्साहन, हौसला र बधाई दिन नसकेर रिस, इष्र्या, प्रतिशोध र तिरस्कारको दृष्टिले हेर्न मन लागेको छ भने आफैँले आफैँलाई सोच्नु म डिप्रेसन अर्थात् मानसिक समस्यामा पर्दै गएको छु ।
डिप्रेसन वा मानसिक समस्या के हो ? यसबाट कसरी मुक्ति पाउने, लक्षण देखिए के गर्ने ? यस्तै विषयमा नशा स्नायु तथा मानसिक रोग विशेषज्ञ डा कमल गौतम मानसिक रोगबारे यस्तो बताउनुहुन्छ :
मानसिक समस्या अर्थात् डिप्रेसन
हरेक कुरामा खुसीको भन्दा पीडाको अनुभूति हुन्छ, । जीवनप्रति नै घृणा र वितृष्णा छाउन थाल्छ । निरन्तर दिक्दारी, गलत विचार, नकारात्मक धारणा, हत्तोसाह, दुःख, जीवनप्रतिको आशा, अरू मानिसप्रतिको सद्भाव र हरेक कुराबाट टाढा हुन मन लाग्छ भने हामीले बुझ्नुपर्छ कि हाम्रो मानसिक स्वाथ्य ओरालो लाग्दै छ । हामी बिस्तारै डिप्रेसनको दलदलमा भासिँदै छौं ।
मानसिक समस्याका धेरै रुपमध्ये डिप्रेसन एक हो । तर हामीकहाँ मानसिक समस्यालाई नै डिप्रेसन भनेर बुझिन्छ । मानसिक समस्याका मुख्य रुप छन् ती हुन् डिप्रेसन, साइकोसिस, मादकपदार्थ दुव्र्यसनी, छारेरोग ।
मानसिक समस्यामा फसेपछि कतिले आत्महत्या गर्ने तथा विभिन्न सामाजिक, पारिवारिक, नैतिक, भौतिक आपराधिक क्रियाकलापमा समेत गर्नसक्छन् । मानिसलाई दाम्लोमा बाँधेर राखेको समाचार हामी सुन्छौ नि, ती गम्भीर मानसिक समस्याले नैतिक भौतिक र आपराधिक क्रियाकलाप गर्न उक्सियो भनेर नै हो ।
मानसिक समस्याले ग्रसित भएपछि मानिसले गर्ने क्रियाकलापको शैली कतिखेर परिवर्तन हुन्छ भन्न सकिन्न । उसको स्वभाव छिटोछिटो बदलिन्छ । कहिले हाँसिरहने , कहिले रोइरहने त कहिले गम्भीर हुने त कहिले धेरै बोल्ने त कहिल्यै बोल्दै नबोल्ने हुन्छ । मानसिक रोगको अवस्था र प्रक्रिया अनुसार स्वभावमा परिवर्तन आइरहन्छ ।
अनौठो लक्षण देखाउँछन्
मानसिक रोगीले आफ्नो क्रियाकलापमा अनौठो खालका लक्षणहरु देखाउँछन् । तत्काल कुनै लक्षण नदेखिन पनि सक्छ । हाम्रो समाजमा मानसिक समस्याहरु व्यक्तिले मात्र नभई घर परिवारलेसमेत लुकाउँछन् । यो त जति लुकायो त्यति बल्झन्छ । सुरुमा त परामर्शबाट मानसिक रोगको समस्या घटाउन सकिन्छ । यो समस्या हुनेले जति खुलेर बोल्यो, त्यति सुल्झदै जान्छ ।
कतिपय मानिसहरू समाजमा अरू मानिसको दृष्टिकोण कस्तो हुने हो भन्ने डरले मानसिक रोग लागेको छ कि भनेर जँचाउन पनि हच्किन्छन्, भने कतिपयलाई आफू मानसिक समस्याबाट पीडित छु भनेर थाहा नहुन पनि सक्छ । मानसिक समस्या हरेक उमेर समूहका हुन्छन् । विश्वमा आत्महत्याका जति कारणहरु छन्, त्यसको प्रमुख कारण नै मानसिक समस्या हो । केटाकेटीदेखि वृद्धवृद्धा ताथ युवा वर्गलाई समेत छोड्दैन । ७० प्रतिशत मानसिक समस्या १४ वर्षदेखि नै देखिन्छ ।
मानसिक समस्या भएपछि कुनै कुराप्रति चाह खासै हुँदैन । आफ्नो काम, कर्तव्यबाट पनि टाढा हुन मन लाग्छ । शारीरिक सम्बन्धप्रति वितृष्णा हुन्छ । निराशा र उदासिनता बढ्छ । अरूको प्रशंसाभन्दा आलोचना, माया प्रेमको बदलामा घृणा र कुभलो सोच्न मन लाग्छ । जीवन एक्लो र अर्थहीन भएको बोध गर्छन् ।
नेपालमा मानसिक समस्याको अवस्था
डिप्रेसन र मादकपदार्थ दुव्र्यसनीबाट बढी मानसिक समस्या भएको छ । यस्ता मानसिक समस्या भएका ९० प्रतिशत रोगीहरु उपचारसम्म पुगेका छैनन् । नेपालमा मानसिक समस्या भएका ९५ प्रतिशतले आत्महत्या गरेका छन् ।
नेपालमा ५० देखि ६० लाख भन्दा बढी मानिसमा कुनै न कुनै रूपमा मानसिक स्वास्थ्यबाट पीडित छन् । यस अनुसार ४ जनामा करिब एक जना व्यक्ति यसको दलदलमा रहेको तथ्य प्रकाशनमा आइसकेको छ । मानसिक रोगीहरु ८० प्रतिशत डिप्रेशनको कारणले भइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वमा ३० करोडभन्दा बढी मानिसहरू मानसिक रोगी हुने गर्छन् । त्यसमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । मानसिक रोगको कारणले हरेक ४० सकेन्डमा एक जनाले आत्महत्या गरिरहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० पछि हरेक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने आंकलन गरेको छ ।
डिप्रेसन एउटा गम्भीर मानसिक स्वास्थ समस्या भएकाले बेलैमा उपचार वा समाधान गर्नु पर्छ । सकारात्मक भावले मनमष्तिकलाई धुनु पर्छ । यस्तो समस्या लुकाउनुभन्दा विश्वासिलो मान्छेलाई भन्नुपर्छ । समयले भ्याएसम्म योग, ध्यान, व्यायाम र सत्संग गर्नुपर्छ । सकेसम्म कुरा नखेलाउने, एक्लै नबस्ने, साथीभाइ र परिवारसँग रमाउने कोसिस गर्ने, आहार विहार प्राकृतिक तथा सात्विक बनाउने, विगतका कर्मबाट पश्चात्ताप हुन्छ भने त्यसबाट टाढा रहेर वर्तमानमा सुधार गर्ने, औषधीबाट हुने नकारात्मक प्रभावबाट सुरक्षित रहनेजस्ता विकल्प खोज्नुपर्छ ।
उपचारको खोजी
नेपालमा मानसिक समस्या भन्नसाथ हामीले एउटै कुरा बुझ्ने गर्छो पागलपन । जबसम्म व्यक्ति र समाज यो समस्याबाट उठ्न सक्दैन तबसम्म यो समस्या रहिरहन्छ । बिरामी पनि पीडित भइरहन्छ र समाजले पनि कतै पीडाबोध गरेको हुन्छ । सबैभन्दा पहिला मानसिक समस्या भनेको पागलपनको मात्रै समस्या होइन भनेर बुझ्नुपर्छ । रसायनको गडबडीले गर्दा मानसिक समस्या हुन्छ । यसलाई सामान्य रुपमा लिन सक्नुपर्छ । मानसिक समस्या सामान्यदेखि डरलाग्दा खालका पनि हुन सक्छन् । डरलाग्दो मानसिक समस्या एक प्रतिशत, दुई प्रतिशत मात्रै होला । धेरै खालका मानसिक समस्याहरू परामर्शबाट समाधान गर्न सकिन्छ ।
जस्तोसुकै विकट परिस्थितिमा पनि म यसबाट चाँडै पार लाग्छु । पार लाग्दै छ । समस्या जसरी आयो त्यसरी नै जान्छ । विगत जे भए पनि मेरो वर्तमान सुन्दर बनाउँछु, भविष्य आफै राम्रो हुन्छ भन्ने भावना जागृत गर्नुपर्छ । सधैं बिहान, दिउँसो र बेलुका प्रत्येक पल आशाको दियो बाल्ने गर्नुपर्छ । विचारलाई सधैं सकारात्मक र्ऊजा दिन सफलता, खुशी, शान्तिजस्ता कुराको कल्पना गर्नुपर्छ । आफन्त, घरपरिवार र साथीभाइलाई सम्मान, प्रोत्साहन र मायाले प्रेरित गर्ने बानी बसाल्नुपर्छ ।
केही न केही मानसिक समस्या सबैमा हुन्छ । तर त्यसको मात्रा फरक हो, भन्ने भाव जागृति गराउनुपर्छ । मनोचिकित्सकसँग परामर्श गनुपर्छ । म आज कस्तो छु? मेरो सोचाई कस्तो छ? म स्वस्थ्य छु कि छैन? आज म खुसी छु कि छैन? अलि बढी तनावमा पो छु कि यस्ता कुरा बेलाबेलामा जाच्नुपर्छ ।
पारिवारिक तनाव हो कि, व्यावसायिक तनाव हो कि, जागिरको तनाव हो कि यसलाई पत्ता लगाउनुपर्छ । कसैले मलाई आलोचना ग¥यो मैले माफी नदिएको हो कि जस्ता कुरालाई पनि ध्यान दिनुपर्छ । त्यो बाहेक निन्द्राको व्यवस्थापन, खानाको व्यवस्थापन गर्न जरूरी छ । बेलाबेलामा मनोरञ्जन आवश्यक छ ।
आफूले आफूलाई स्वस्थ्य र बलियो बनाउन मैले कुनै रमाइलो र खुसी हुने काम गरेको छु कि छैन भनेर आफूले आफैँलाई जाच्नुपर्छ । आफ्नो सबैभन्दा ठूलो डाक्टर आफैँ हो । त्यसैले मानिसले आफ्नो तनावको कारण पत्ता लगाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ माघ २०७५, ०९ : १६
लेखकबाट थप