- नारायण शर्मा
नवलपरासी । तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजम उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो ।
सिम्रौनकी आमा विष्णुमाया पौडेलले अहिलेसम्म ३ लाख खर्च भइसकेको बताउँदै अबको उपचार समस्या भएको बताइन् । कान्तिपुरसित पौडेलले भनिन्, 'जुटेको पैसा र आफूसँग भएको सबै अस्पताललाई बुझाइसकियो अब गाह्रो भइसक्यो ।' उनका अनुसार अस्पतालले अझै ३ हप्ता उपचारमा राख्नुपर्ने बताएको छ ।
गैंडाकोटको भृकुटीचोकमा ठेलागाडामा समसा व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहारसहित शरीर डढेको छ। अहिले सिम्रौनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
बालिकाको उपचारका लागि आइतबार स्थानीय बासिन्दाले चन्दा संकलन गरेर ४१ हजार नगद सहयोग गरेका छन् । कावासोतीका एलएन दबाडीले घरदैलो गरेर ४१ हजार नाबालिकाको आमा विष्णुमायालाई दिएका हुन् । दबाडीका अनुसार स्थानीयले आर्थिक अवस्था कमजोर रहेका सिम्रौनको उपचारमा सहुलियत दिनसमेत अस्पताललाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस