नर्सहरुद्धारा कडा आन्दोलनको घोषणा

बुधबार, २६ पुस २०७४, १३ : २२
नर्सहरुद्धारा  कडा आन्दोलनको घोषणा

चितवन । नर्सहरुले कडा आन्दोलनको घोषणा गरेका छन् । मंगलवार  ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलनको तालिका सार्वजनिक गरेका छन् ।

तालिकाअनुसार पुष २६ र २७ गते कालो पट्टी बाँधेर सेवा दिने र पुस २८, २९ र  ३० गते सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।

उक्त  अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने घोषणा गरेका छन् । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने भएका छन् ।

नेपाल नर्सिङ संघको आयोजनामा मंगलाबार गरिएको उपत्यका भेलाले यी निर्णय पारित गरेको हो। यो अान्दाेलनमा नर्ससँग सम्बन्धित सवै संघसंस्थाकाे समर्थन रहेको स‌ंघकी कार्यवाहक अध्यक्ष गंगा थापा बताउँछिन्।

उनीहरुका माग :
१. मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गरियोस् ।
२. जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको 'नर्स बिरामीको अनुपात' सबै अस्पतालमा यथाशीघ्र लागू गरियोस् ।

३. अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना गरियोस् ।

४. भोलेन्टियरका नाममा भएको नर्सको श्रमशोषण बन्द गरियोस् ।

५. नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराइयोस् ।

६. सरकारी तथा निजी क्षेत्रमा कार्यरत नर्सहरुलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, बिदा सुविधा र जोखिम भत्ता गरी सोही अनुरुप निजी स्वास्थ्य संस्थामा पनि सोही अनुपातमा लागू गरियोस् ।

७. सार्वजनिक, निजी र साझेदारी क्षेत्रको सहकार्यलाई प्रवर्धन गरी स्कुल तथा उद्योगहरुमा गुणस्तरीय नर्सिङ सेवा पुर्यामउने व्यवस्था गरियोस् ।

८. योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर नर्सिङ, ब्याचलर नर्सिङलाई मास्टर नर्सिङ र मास्टर  नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन बिदाको व्यवस्था गरियोस् ।

९. दुर्गममा काम गर्ने नर्सहरुलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गरियोस् ।

१०. योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासका लागि प्रस्ट खाका तयार गरियोस् ।

११. श्रम ऐन, २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथाशिघ्र लागू गरियोस् ।

प्रतिक्रिया दिनुहोस