युवतीहरुमा युवाभन्दा बढी वामपन्थी झुकाव

एजेन्सी

विहीबार, ०३ माघ २०७५, १० : १०
युवतीहरुमा युवाभन्दा बढी वामपन्थी झुकाव

एजेन्सी । एक नयाँ अध्ययनले पश्चिम युरोप र क्यानडाका युवतीहरू तिनका पुरुष सहकर्मीभन्दा बढी वामपन्थी हुने देखाएको छ । तर सोही अध्ययनले वृद्धवृद्धाहरूमा भने पाको महिलाहरूले दक्षिणपन्थी पार्टीलाई मतदान गर्ने सम्भावना बढी भएको देखायो ।

हुन त युवायुवतीले वृद्धवृद्धाभन्दा वामपन्थी उम्मेदवारलाई भोट हाल्ने सम्भावना बढी हुन्छ भन्ने कुरा पहिलेदेखिको आम बुझाइ हो । पछिल्लो अध्ययनले महिलामा यो कुरा अझ प्रष्टसँग छुट्टिने जस्तो देखिएको छ ।

राजनीतिक झुकावलाई उमेर र लिङ्गको आधारमा हेर्दा युवतीहरू सबैभन्दा बढी वामपन्थी हुने र वृद्धाहरू सबैभन्दा बढी दक्षिणपन्थी जनसङ्ख्या समूह रहेको देखिएको छ ।

यो ४० हजार मानिसबाट सङ्कलन गरिएको तथ्याङ्कको विश्लेषणबाट गरिएको एक अध्ययनले देखाएको हो ।

अध्ययन गरिएका लगभग सबै देशमा सन् १९५५ पछि जन्मिएका महिलाले उही उमेर समूहका पुरुषलेभन्दा वामपन्थी पार्टीलाई मतदान गर्ने सम्भावना बढी रह्यो । त्यसको विपरीत सन् १९५५ अघि जन्मिएका महिलाहरू तिनका पुरुष मित्रभन्दा वामपन्थी पार्टीलाई कम मतदान गर्ने सम्भावना थियो ।

अध्ययनले वामपन्थीहरूलाई मतदान गर्ने कुरामा उमेरको खाडल प्रत्येक नयाँ पुस्तामा झन् बढी हुँदै गएको देखाएको छ । त्यही कारणले वामपन्थीलाई मतदान गर्ने कुरालाई लिएर महिला र पुरुषबीचको भिन्नता सन् १९७५–८५ मा जन्मिएकाहरूको हकमा भन्दा १९६५–७५ मा जन्मिएकामा बढी थियो ।

यो कुराले बढी उमेरका महिला सोही उमेरका पुरुषभन्दा बढी दक्षिणपन्थी हुने देखाउँछ ।

अध्ययनबाट धार्मिकतामा हुने गिरावटले यो प्रवृत्तिलाई व्याख्या गर्न महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ । वृद्धाहरू बढी धार्मिक हुन्छन्, यसैले युवतीहरूको तुलनामा वृद्धाहरूले गर्ने चुनावी छनौटमा तिनको धार्मिकताले महत्त्वपूर्ण प्रभाव पार्छ ।

धार्मिक मतदाताले रुढीवादी समाजिक मूल्यलाई बोक्ने सम्भावना बढी हुन्छ र त्यही कारणले उनीहरू धार्मिक पार्टीसँग बढी नजिक हुन्छन् । यसको अर्थ पाको उमेरका महिलाहरूले दक्षिणपन्थी पार्टीहरूलाई मतदान गर्ने सम्भावना बढी हुन्छ । यसले स्वाभाविक रूपमा यो उमेर समूहका महिलाले वामपन्थी पार्टीलाई मतदान गर्ने सम्भावना एकदम कम हुन्छ ।

अर्कोतर्फ कम उमेरका महिलामा पुनरवितरणलाई बढी प्राथमिकता दिने प्रवृत्ति हुन्छ । पुरुषको तुलनामा उनी राज्यको बढी भूमिका रोज्छन् । उनीहरू यी प्राथमिकता अन्तर्गत रहेर वामपन्थी पार्टीलाई मतदान गर्छन् । हुन त बढी उमेरका महिला आर्थिक नीतिको प्राथमिकताको आधार पुरुषभन्दा बढी वामपन्थी हुन्छन् तर मतदान गर्दा तिनमा उमेरसँगै बढेको धार्मिकता तिनको अन्य प्राथमिकतामाथि भारी पर्छन् ।

‘महिला भोट’ जटिल विषय
चुनाव प्रचारको बेला राजनीतिक दलहरूले ‘महिला भोट’ तान्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन् । तथापि यो विश्लेषणले महिलामा युवा र वृद्धहरूबीच उलेख्य फरक हुने देखाउँछ । त्यसैले सोलोडोलो रूपमा महिलाको भोट तान्नमा केन्द्रित हुनुभन्दा युवती अथवा वृद्धाहरूमा अलग अलग ध्यान दिनु उपयोगी हुन्छ ।

यो वामपन्थी तथा दक्षिणपन्थी दुवै पार्टीका लागि चुनौती हो । यो अध्ययनले दुवै दक्षिणपन्थी र वामपन्थी पार्टीले महिला मतदातालाई आकर्षित गर्नका लागि आफूलाई पुनरमूल्याङ्कन गर्न सुरु गर्नुपर्ने आवश्यकता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस