पूर्वी चीन सागरमा पानीजहाज ‘अझै जल्दै’

एजेन्सी

मंगलबार, २५ पुस २०७४, १४ : ११
पूर्वी चीन सागरमा पानीजहाज ‘अझै जल्दै’

चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् । उक्त पानीजहाजले झण्डै १० लाख ब्यारल 'कण्डेन्सेट' बोकेको थियो ।

'कण्डेन्सेट' तेलको विषालु र विस्फोटक स्वरूप हो । थप विपद् रोक्ने भन्दै चीनले सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ ।

खोजी
एउटा मालवाहक पानीजहाजसँग ठोक्किएपछि तीन दिनयता उक्त पानीजहाज जलिरहेको छ । चिनियाँ अधिकारीहरूले हराएका चालक दलका ३१ जनाको खोजी कार्यलाई व्यापक बनाएका छन् । तर खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको बताइएको छ ।

शनिबार सांघाईबाट १ सय ६० नोटिकल माइल पूर्वमा उक्त दुर्घटना भएको थियो । अहिलेसम्म पानीजहाजबाट चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे स्पष्ट भइसकेको छैन ।

खराब
यो सन् १९९१ यताकै सबैभन्दा खराब यस्तो प्रकृतिको दुर्घटना हुन सक्ने ठानिएको छ । इन्धन बोकेको उक्त पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको उद्धार गरिएको छ ।

चीनले उद्धार कार्यका लागि कैयौँ पानीजहाजहरू परिचालन गरेको छ र दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकप्टर परिचालन गरेको छ ।
अमेरिकी जलसेनाले उद्धार कार्यमा मद्दत गर्न एउटा सैनिक हेलिकप्टर पठाएको थियो ।(बिबिसी)

प्रतिक्रिया दिनुहोस