सहयोगको याचना गर्दै आँँखा नदेख्ने श्रीमान, हिँड्न नसक्ने श्रीमती

सोमबार, २३ पुस २०७५, १५ : २०
सहयोगको याचना गर्दै आँँखा नदेख्ने श्रीमान, हिँड्न नसक्ने श्रीमती

हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको दुर्गम गाउँमा रहेको एक अशक्त दम्पतीले सहयोगको याचना गरेको छ । मकवानपुरगढी–१ का वीरबहादुर र साइलीमायाको दम्पतीले सहयोगका लागि अनुरोध गरेको छ । 

वीरबहादुर भोलन दुबै आँखा देख्नु हुन्न र उहाँकी पत्नी साइलीमाया भोलन हिँड्न सक्नुहुन्न । साइलीमायाको जन्मजात नै खुट्टा फर्किएको छ भने विगत पाँच वर्ष अघिदेखि वीरबहादुरको आँखाको ज्योति गुमेको छ । सामान्य हिँडडुल गर्न पनि एकअर्काको सहाराको आवश्यकता पर्ने यो जोडी विगत ३५ वर्षअघि मकवानपुरगढीमा बनेको हो । 

श्रीमती साइलीमाया हिँडडुल गर्न नसक्ने भए पनि तगडा वीरबहादुरले खेतीपाती र बनिबुतो गरेर हाँसीखुशीका साथ घर चलाउँदै आउनुभएको थियो । तर वीरबहादुरको आँखाको ज्योति गुम्दै गएपछि यो जोडीको खुशी पनि गुम्दै गयो । सन्तानविहीन यो जोडी मोटरबाटोबाट एक घण्टा उकालो हिँडेपछि पुगिने एक्लो घरमा बस्छ । 

भूकम्पमा भत्किएको घरको ‘राडो नेपाल’ नामक एक संस्थाले पुनःनिर्माण गरिदिएको छ तर घरमा कमाउने, ल्याउने, बनाउने र खुवाउने समेत मान्छे नहुँदा निकै कष्टकर जीवन बिताउन बाध्य भएको वीरबहादुर बताउनुहुन्छ । उमेरले ६० कट्नुभएका वीरबहादुर लौरोको सहारामा झण्डै आधा घण्टा हिँडेर पानी ल्याउनुहुन्छ । 

कसैले पिठो र चामल सहयोग गरेको भए खाना खान पाउने नत्र पानीको भरमा दिन र रात काट्न बाध्य यो जोडीलाई नयाँ पाइला नामक संस्थाले कहिलेकाहीँ खाद्यान्न तथा लत्ताकपडा सहयोग गर्दै आएको छ । वडाको पहलमा वीरबहादुरलाई अपाङ्ग परिचयपत्र बनेको छ । परिचयपत्रको आधारमा उहाँलाई दिइने मासिक रु ६०० ले गुजारा चलाउनुपर्ने बाध्यता रहेको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस