‘एक घर एक धारा’ योजना शुरु

विहीबार, १९ पुस २०७५, १५ : ४८
‘एक घर एक धारा’ योजना शुरु

पर्वत । खानेपानीको अभाव रहेको पर्वत मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ । 

मोदी गाउँपालिका–६ को साविक तिलहार गाविस ठूलो भूभाग र वडा नं ८ साविक चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा पु¥याउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना बनाउन थालिएको हो । 

खानेपानी तथा सरसफाइ डिभिजन बागलुङले रु तीन करोडमा योजना निर्माण गर्न थालेको हो । योजनाबाट मोदी गाउँपालिका ६ र ८ वडाका ३४३ घरमा एक घर एक धारा निर्माण गरिने डिभिजन प्रमुख प्रेम डोटेलले बताउनुभयो । नवजागृत माध्यमिक विद्यालयमा खानेपानी योजना निर्माण गरिनेछ । योजनाबाट मोदी–८ को ओडारे, मोदी–७ को दराक, रात्माटा र ठानागाउँमा खानेपानी आपूर्ति हुनेछ । डिभिजनका इञ्जिनीयर सङ्गीता बरालले उपभोक्ताले २० प्रतिशत श्रमदान गरी योजना पुरा गर्न आग्रह गर्नुभयो । 

मोदी गाउँपालिका–६ का अध्यक्ष विमल लामिछानेले चुनावमा हरेक घरमा एउटा खानेपानीको धारा पु¥याउने प्रतिबद्धताअनुसार प्रदेश सरकारबाट रु ५० लाख विनियोजन गरी काम थालेको जानकारी दिनुभयो । योजनाको सांसद पदम गिरीले बुधबार शिलान्यास गर्दै चार वर्षभित्रमा पर्वतलाई मुलुकमै पहिलो स्वच्छ पिउने पानी उपलब्ध भएको जिल्ला बनाउने लक्ष्यसहित खानेपानी क्षेत्रमा काम भइरहेको बताउनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस