डोनाल्ड ट्रम्प र किम जोङ उनबीच यतिबेला वाकयुद्ध चलिरहेको छ । दुवैले एकअर्कालाई बटन दबाएको भरमा परमाणु हमला गर्न सक्ने धम्की दिइरहेका छन् ।
ट्वीटरमा छेडिएको यो ‘बटन युद्ध’ बीच के वास्तवमै एउटा बटन दबाउने बित्तिकै परमाणु हतियार लञ्च हुन्छ त भन्ने जान्न जरुरी हुन्छ । यदी यस्तो हो भने के वास्तवमै
ट्रम्पसँग परमाणु बटन रहेको छ त ?
सबैले जान्न जरुरी छ, परमाणु हतियार लञ्च गर्नु भनेको बटन दबाएर टिभीको च्यानल बदल्ने जस्तो सजिलो काम होइन । यो प्रक्रिया निकै जटिल हुन्छ । रोचक कुरा, यसमा ‘विस्कुट’ र ‘फुटबल’ पनि शामिल छ ।
अर्थात् ‘परमाणु बटन’ चलनचल्तीमा रहेको शब्द भए पनि ट्रम्पले मात्र एउटा बटन दबाएर परमाणु हतियार चलाउन सक्दैनन् ।
त्यसो भए ट्रम्पसँग के छ ?
पछिल्लो जनवरी २० मा डोनाल्ड ट्रम्पको सपथग्रहण कार्यक्रममा पूर्व राष्ट्रपति बाराक ओबामासँगै सेनाका एक अधिकारी छालाको ब्रिफकेससँग उपस्थित थिए । शपथ लिने बित्तिकै ती सैनिक ब्रिफकेससहित ट्रम्पसँग हिँडे ।
उक्त ब्रिफकेसलाई ‘न्युक्लियर फुटबल’ भनिन्छ । परमाणु हतियार फायर गर्न यस फुटबलको आवश्यकता हुन्छ । यो न्युक्लियर फुटबल हर समय राष्ट्रपतिसँग हुन्छ ।
गत अगस्तमा सीएनएनलाई एक जानकारले भनेका थिए, ‘ट्रम्प जब गल्फ खेल्छन्, तब यो ‘फुटबल’ उनको पछिपछि सानो गाडीमा हुन्छ ।’
के हो न्युक्लियर फुटबल ?
यदी कसैले यो ‘फुटबल’ खोलेर हेर्यो भने ऊ निराश हुनसक्छ । किनभने फुटबलमा न कुनै बटन छ न त चलचित्र आर्मागेडन जस्तै कुनै घडी नै छ ।
यस फुटबलभित्र सञ्चारको साधन हुन्छ र केही किताब हुन्छ जसमा युद्धको तयार योजना हुन्छ । यस योजनाको मद्दतबाट तुरुन्त कुनै फैसला लिन सजिलो हुन्छ ।
विस्कुट के हो त ?
विस्कुट भनेको एउटा कार्ड हो जसमा कोड हुन्छ । अमेरिकाका राष्ट्रपति हरसमय यो कोड आफूसँग राख्छन् । यो फुटबलभन्दा फरक हुन्छ ।
यदी राष्ट्रपतिलाई परमाणु हमला गर्ने आदेश दिनुपर्यो भने उनले यो कोड प्रयोग गरेर सेनालाई आफ्नो पहिचान बताउँछन् ।
राष्ट्रपतिको पद सम्हालेपछि एबीसीले डोनाल्ड ट्रम्पसँग सोधेको थियो, ‘विस्कुट पाएपछि तपाईंलाई कस्तो महसुस भइरहेको छ ?’
ट्रम्पले जवाफ दिएका थिए, ‘जब उनीहरुले विस्कुट के हो भन्ने बारे बताउँछन्, यसबाट कस्तो तबाही हुन सक्छ भन्ने जानकारी दिन्छन्, यसको गम्भीरता बुझिन्छ । यो निकै डरलाग्दो छ ।’
पूर्व राष्ट्रपति बिल क्लिन्टनका पूर्व सैन्य सहयोगी रोबर्ट बज प्याटरसनका अनुसार बिलले एक पटक यो कोड हराएका थिए ।
प्याटरसनका अनुसार बिल यो विस्कुटलाई आफ्नो क्रेटिड कार्डसँग रबर ब्याण्डसँग बाँधेर पेन्टको गोजीमा राख्थे ।
प्याटरसनका अनुसार मोनिका लेवेन्सीसँग भएको घटनाको बिहान क्लिन्टनलाई होसै भएन उनले कोड कहाँ राखे ।
सेनाका एक अर्का अधिकारी ह्यू शेल्टनका अनुसार राष्ट्रपति क्लिन्टन महिनौँसम्म आफ्नो कोड भुल्थे ।
अमेरिकी राष्ट्रपतिले कसरी लञ्च गर्छन् परमाणु हतियार ?
मात्र राष्ट्रपति परमाणु हतियार लञ्च गर्न सक्छन् । कोडबाट सेनालाई आफ्नो पहिचान बताएपछि राष्ट्रपति जोइन्ट चिफ अफ स्टाफका चेयरम्यानलाई आदेश दिन्छन् । चेयरम्यान अमेरिकी सेनाको सबैभन्दा ठूला अधिकारी हुन्छन् ।
त्यसपछि यो आदेश नब्रास्काको अफ्ट एयरबेसमा बनेको स्ट्राटेजिक कमान्डको मुख्यालयमा पुग्छ । त्यहाँबाट आदेश ग्राउण्ड टिमलाई पठाइन्छ । (यो समुद्रभित्र पनि हुनसक्छ ।)
परमाणु हतियारको फायर खोल्न आदेश कोडबाट पठाइन्छ । यो कोड लञ्च टिमसँग राखिएको सुरक्षित कोडसँग मेल खानुपर्छ । मेल खाए मात्र परमाणु हतियार फायर गरिन्छ ।
के राष्ट्रपतिको आदेश नकार्न सकिन्छ ?
राष्ट्रपति अमेरिकी सेनाको कमान्डर इन चिफ हुन्छन् । यानी सेनालाई उनको हरेक आदेश मान्नुपर्ने हुन्छ ।
तर, यसमा केही अपवाद पनि हुनसक्छन् ।
४० वर्षमा पहिलो पटक पछिल्लो वर्ष नोभेम्बरमा कङ्ग्रेसको कमिटीले राष्ट्रपतिको परमाणु हतियार लञ्च गर्ने अधिकारको जाँच गरेको थियो ।
यसमा सन् २०११–१३ मा अमेरिकी स्ट्राटेजिक कमाण्डको कमान्डर रहिसकेका रोबर्ट केहलर पनि शामिल थिए ।
उनले जाँच कमिटीसँग भनेका थिए कि आफू दिएको प्रशिक्षण अनुसार राष्ट्रपतिको परमाणु हतियार फायर गर्ने आदेश उनी मान्छन् तर, त्यो कानूनसम्मत हुनुपर्छ ।
उनले भनेका थिए, ‘केही स्थितिमा म तयार छैन भन्न सकिन्छ ।’
एक सिनेटरले सोधेका थिए, ‘त्यसपछि के हुन्छ ?’ तब केहलरले भनेका थिए, ‘थाहा छैन ।’ यो जवाफ सुनेपछि कमिटीका सदस्यहरु हाँसेका थिए ।(बिबिसी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २० पुस २०७४, १७ : ३७
लेखकबाट थप