दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानून पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानून’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ ।
अहिले उनले ‘कानून’ विषय पढिरहेकी छन् । ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन’, उनले भनिन्, ‘तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानून विषय पढिरहेकी छु ।
तुलसीपुर उपमहानगरपालिका–१२ स्थित एक निजी कलेजमा कानून विषयमा स्नातक (बीएएलएलबी) पढाइ शुरू भएपछि अहिले उनी त्यहीँ पढिरहेकी छन् । उनको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । ‘सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो’, उनले भनिन् ।
तुलसीपुर–११ निवासी सरु चौधरीको पनि अवस्था उस्तै नै हो । उनलाई घरबाट पढाइ खर्च पुर्याउन हम्मेहम्मे पर्छ । तर, उनको इच्छा कानून विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उनले कानून विषय पढिरहेकी छन् । उनीहरू दुवै जनाले अहिले आठौं सेमेस्टरको अध्ययन गरिरहेका छन् ।
दाङ थारू समुदायको बाहूल्यता भएको जिल्ला हो । तर, दाङमै कानून विषय पढेका महिला विरलै छन् । यसले पनि उनीहरूलाई कानून विषय पढ्ने कुराले झक्झक्यायो ।
‘कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ, तर, महिलाहरू विरलै भएकाले पनि हामीले कानून विषय पढ्ने इच्छा राखेका हौ’, उनले भनिन् । कानून विषय पढ्न रू चार लाखको हाराहारी खर्च लाग्छ ।
उनीहरूलाई हौसला दिने काम गरिरहेकी छन्, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले । उनले आर्थिक तथा अन्य सहयोग गर्दै आएकी छन् । जिल्लामा कानून विषय पढेका महिलाको संख्या विरलै छ ।
‘महिलाले पनि कानून पढ्नुपर्छ भनेर मैले शुरूदेखि नै सहयोग गर्दै आएकी छु’, उनले भनिन्, ‘मेरै पहलमा उनीहरूलाई कानून पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको छु ।
कानून पढ्नेलाई मात्र होइन, अन्य विद्यार्थीलाई पनि सहयोग गरेको उनले बताइन् । तुलसीपुर–१० निवासी निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नका लागि आर्थिक सहयोग गर्दै आएका छन् । विगत लामो समयदेखि उनले आर्थिकसहित शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी छन् । उनले यस्ता आर्थिक अभाव भएका विद्यार्थीलाई सहायता दिँदै आएको बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ११ : १२
लेखकबाट थप