सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

सफल खबर संवाददाता

विहीबार, ०४ बैशाख २०८२, ०८ : ५५
सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ ।

बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन् । पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक अवरुद्ध गरी केराका बोट रोपेका थिए ।

बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताए । ‘सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन । त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ’, उनले भने ।

सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धराशायी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस