चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि पुग्ने एडिबीको प्रक्षेपण

सफल खबर संवाददाता

बुधबार, २७ चैत्र २०८१, १२ : ५९
चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि पुग्ने एडिबीको प्रक्षेपण

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो ।

आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडिबीको छ । एडिबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री आइन हान्सनले ट्म्पको ट्यारिफ घोषणाले एसिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४.९ प्रतिशतमा झर्ने बताए । अमेरिकी नीतिगत परिवर्तनबाट प्रक्षेपणलाई कमजोर बनाएको छ भने अनिश्चय बढाएको उनको भनाइ छ ।

अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २/८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १.९ प्रतिशतमा झर्ने सम्भावना रहेको एडिबीको भनाइ छ ।अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना पनि एडीबीले देखाएको छ । चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ ।

यति हुँदाहुँदै पनि दक्षिण एसियाको भने गत वर्षको ५।८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण छ । चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडिबीको छ । ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडिबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने । यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने उनले बताए ।

यो आर्थिक वर्षमा थप ९०० मेगावाट उत्पादन बढ्ने प्रक्षेपण नेपाल विद्युत् प्राधिकरणको छ । पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने खड्काले बताए । व्यापार तथा पारवहन क्षेत्रले पनि राम्रो योगदान गर्ने छ । केही समय भएको कानूनी परिवर्तनले पनि लगानी बढ्ने तथा सेवा क्षेत्रको वृद्धिमा योगदान गर्ने उनले बताए ।

चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडिबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।

 

प्रतिक्रिया दिनुहोस