नयाँ वर्षमा बुटवल सडक महोत्सव

सफल खबर संवाददाता

शनिबार, २३ चैत्र २०८१, १४ : ५१
नयाँ वर्षमा बुटवल सडक महोत्सव

बुटवल। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन संघ रुपन्देही (रेबन)ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा बुटवल सडक महोत्सव गर्ने भएको छ ।

आन्तरिक पर्यटनलाई बढावा दिनेगरी तीन दिन सडक महोत्सव गर्न लागिएको हो । रेबनका अध्यक्ष प्रशान्त कोइरालाले सडक खाना महोत्सवमार्फत पर्यटन चलायमान बनाउने लक्ष्य रहेको बताए । बुटवल तीनकुनेदेखि शिवालय मन्दिरसम्म सञ्चालन हुने महोत्सवको तयारी तीब्र बनाइएको छ ।

चैत ३० गतेबाट वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । नेपाली मौलिक खानाका परिकार प्रस्तुत गर्ने स्टललाई नि:शुल्क व्यवस्थापन गरिएको कोइरालाको भनाइ छ । टोल समितिहरूसँग समन्वय गरी कार्यक्रम गर्न लागिएको उनले बताए ।

 

 

 

 

 

 

महोत्सव सञ्चालनका लागि करिब २५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा ५० वटा स्टल सहभागी हुनेछन् । महोत्सवमा खानाका परिकारसँगै मनोरञ्जनका नयाँ नयाँ प्रविधि, कला संस्कृतिलाई समेत अवसर दिएको उपाध्यक्ष लक्ष्मण श्रेष्ठले बताए ।

कार्यक्रममा टिकटक च्यालेन्जसमेत आयोजना गरिने सचिव अतीत तरामु मगरले बताए । जसमा सर्वाधिक भ्यूज हुने दर्शकलाई पुरस्कृत गरिने उनले बताए । 

 

 

महोत्सवमा सरसफाइलाई विशेष ध्यान दिइएको तरामु मगरले बताए । २०७८ सालमा स्थापना भएको रेबनमा ९२ जना सदस्य आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस