त्रिवि उपकुलपति बरालले दिए राजीनामा

सफल खबर संवाददाता

आइतबार, १७ चैत्र २०८१, ११ : १०
त्रिवि उपकुलपति बरालले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएको १३ महिनामै प्राडा केसरजंग बरालले राजीनामा दिए । त्रिवि स्रोतका अनुसार शुक्रबार उनले राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका हुन ।

गत २०८० फागुन १० मा तत्कालीन प्रधानमन्त्री एंव त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए । प्रचण्डको जोडबलमा उपकुलपति बनेको भन्दै उनीमाथि सुरुदेखि नै प्रश्न उठेको थियो ।

खुला प्रतिस्पर्धाबाट उपकुलपतिको नाम छनौट गर्दा बराल दोस्रो नम्बरमा थिए । तर, तत्कालीन प्रधानमन्त्री प्रचण्डको चाहनामा उनी उपकुलपतिमा नियुक्त भएका थिए ।

उपकुलपतिको कार्यालय ४ वर्षको हो तर एक वर्षमै राजीनामा दिएर बराल पोखरा फर्किएका छन् । ‘गाडी, पीएसओ, ल्यापटप फिर्ता गरिसक्नु भएको छ । उहाँ चार दिनअघि नै पोखरा घर जानु भएको हो’, त्रिविका एक कर्मचारीले भने ।

पोखरा जानुअघि उनले प्रचण्डलाई भेटेर आफूले राजीनामा दिने बताएका थिए । ‘प्रचण्डज्यूलाई भेटेर राजीनामा दिन्छु भन्नू भएको रहेछ । करार र आंशिक शिक्षकबाट दबाब आयो’, बरालले प्रचण्डलाई भनेका थिए ।

माओवादी निकट नेपाल प्राध्यापक संगठनका एक पदाधिकारीका अनुसार प्रचण्डले राजीनामा नदिन र मिलाएर काम गर्न बराललाई भनेका थिए । तर, बरालले करार शिक्षक कर्मचारीलाई स्थायी र आंशिकलाई करार बनाएर कालो धब्बा नबोक्ने बताएका थिए । शनिबार प्रचण्डले प्राध्यापक संगठनको कार्यक्रममा पनि बरालले प्राध्यापक र कर्मचारीका कारण राजीनामा दिन बाध्य भएको बताएका थिए ।

‘भीसीलाई कर्मचारी र प्राध्यापकबाट दबाब आयो । अदालतले मिल्दैन भनेको छ । राजीनामा दिन बाध्य बनाइयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्राध्यापक संगठनका एक पदाधिकारीले भने ।करिब ४०० करार प्राध्यापक र कर्मचारीले स्थायी गर्न र एक हजार अंशिकले स्वतः करार गर्न दबाब दिएका हुन् ।

विशेष आन्तरिक खुला प्रतियोगिताको आधारमा प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन भनेका हुन् । तर, सर्वोच्च अदालतले त्यो व्यवस्था खारेज गरेपछि बराल दबाबमा परेका हुन् । ‘एक पटकलाई भन्ने तर पटक पटक गर्ने गरेपछि अदालतले विशेष आन्तरिक खुला प्रतियोगिता खारेज गर्दियो । अदालतको निर्णय मान्नै पर्‍यो । नमाने भीसीलाई नै अफ्ट्यारो पर्ने । यता प्राध्यापक र कर्मचारीले स्थायी र करार बनाउन दबाब दिने’,  त्रिविका एक कर्मचारीले भने, ‘काम गर्न अफ्ट्यारो भएपछि राजीनामा दिन बाध्य हुनु भएको हो ।’

एक हप्ताअघिदेखि नै बराल राजीनामा दिने मनस्थितिमा थिए । उनले कानुनसँग पनि राय सुझाव लिएका थिए । ‘बराल सर टेन्सनमा देखिनु हुन्थ्यो । राजीनामा दिन्छु दिन्छु भनिरहनु भएको थियो। आफ्नो इमेज बिगार्नु भन्दा राजीनामा दिन उपयुक्त ठान्नु भयो’, भीसी कार्यालयका एक कर्मचारीले भने ।कर्मचारीले समस्यासँग लड्न सुझाव पनि दिएका थिए । तर बरालले बारम्बार कालो धब्बा नबोक्ने भनिरहे ।

त्रिवि स्रोतका अनुसार उनले राजीनामाको कारण भने स्वास्थ्यलाई देखाएको बुझिएको छ । ‘कसैलाई दोष दिनुभएको छैन । आफ्नो स्वास्थ्यको कारण राजीनामा दिनु परेको उल्लेख गर्नुभएको छ’, भीसी कार्यालयका एक कर्मचारीले भने । परिवारले पनि राजीनामा दिन बराललाई सुझाएका थिए । तर राजीनामा बारे बराल बोलेका छैनन् । उनी फोन अफ गरेर बसेका छन् । प्रधानमन्त्री केपी ओलीको सचिवालय भने बरालले दिएको राजीनामा आधिकारिकरुपमा कुलपति समक्ष नआइपुगेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस