यी हुन् कुलमानलाई प्राधिकरणबाट बर्खास्त गरिनुका दश कारण

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, १० : ३०
यी हुन् कुलमानलाई प्राधिकरणबाट बर्खास्त गरिनुका दश कारण

काठमाडौ । अनधिकृत निर्णय, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको सरकारले जनाएको छ । विभिन्न प्रशासनिक, कानूनी, नीति-नियम उल्लंघन र कार्यसम्पादनसम्बन्धी कारणहरू देखाउँदै सरकारले कुलमानलाई बर्खास्त गरेको जनाएको हो । 

सरकारले घिसिङलाई १० वटा कारणसहित पदबाट हटाइएको पत्र दिएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मंगलवार घिसिङलाई औपचारिक पत्रमार्फत् जानकारी गराइएको हो । 

सरकारले उनलाई पदमुक्त गर्नुको कारण खुलाउँदै तीन पन्ने पत्रमा १० बुँदा उल्लेख गरेको छ । पत्रमा उल्लेखित कारणहरूमा घिसिङको कार्यसम्पादन, नीतिगत अवज्ञा र अनधिकृत निर्णयहरूलाई प्रमुख आधार बनाइएको छ । 

पहिलो बुँदामा कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन समयमै नबुझाएको उल्लेख छ भने दोस्रोमा नेपाल–भारत ऊर्जा आदानप्रदान सम्झौतामा अधिकारविहीन हस्ताक्षर गरेको आरोप लगाइएको छ । 

त्यस्तै, तेस्रो बुँदामा सरकारको निर्देशन अवज्ञा गर्दै विद्युत खरिद सम्झौता गरेको र चौथोमा ऊर्जा मन्त्री र सचिवको अनुपस्थितिमा अनधिकृत निर्णय गरेको दाबी गरिएको छ ।

पाँचौं बुँदामा डेडिकेटेड फिडर तथा ट्रंक लाइन ग्राहकहरूको बक्यौता रकम असुलीमा चासो नदिएको, छैटौंमा अनधिकृत रूपमा विदेश भ्रमण र बिदा लिएको, सातौंमा सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन नगरेको पत्रमा उल्लेख छ । 

त्यस्तै, आठौंमा मन्त्रिपरिषद्मा सफाइ पेश गर्नुअघि नै सञ्चारमाध्यममा आफ्नो पक्ष सार्वजनिक गरेको उल्लेख छ।  नवौं बुँदामा प्राधिकरणभित्र गुटबन्दी सिर्जना गरेको र दशौंमा संघीय संसद् र नेपाल सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

सरकारले मंगलवार नै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति दिएको छ । प्राधिकरणमा शाक्यको यो दोस्रो कार्यकाल हो ।

प्रतिक्रिया दिनुहोस