काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् ।संगठनका उपाध्यक्ष रहेका राईले लामो पृष्ठभूमि सहित विराटनगरमा पर्सि १० चैतबाट सुरू हुने दशौं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । पार्टी नेतृत्वले सर्वसहमतिको प्रयत्न गरे पनि आफू योग्य रहेको र नभए प्रतिनिधिहरूले निर्णय लिने उनको विश्वास छ ।
‘अहिलेसम्म पार्टी नेतृत्व/संगठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ ।हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर,’ राईले सामाजिक सञ्जालमा लेखेका छन् ।
उल्टियो सचिवालय निर्णय
एमालेकै पार्टी निर्णय उल्टिएपछि उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि उनै राईलाई चौतारीको अध्यक्ष बनाउनेगरी एमालेले निर्णय गरेको थियो ।
गत १८ फागुनमा एमाले सचिवालय बैठकले अध्यक्ष पदका अर्का आकांक्षी गणेश पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्राप्त रिपोर्टिङका आधारमा पाण्डेलाई प्रचार विभाग सचिव नियुक्त गर्ने निर्णय अगाडि बढाएका थिए ।
सोही अनुसार केन्द्रीय कार्यालयबाट पाण्डेलाई प्रचार विभाग सचिवको प्रस्ताव सचिवालय बैठकमा लगियो र निर्णय भयो । पार्टी निर्णय अनुसार पाण्डेले प्रचार विभाग सचिव पदको शपथ लिइसकेका छन् ।
चौतारीका उपाध्यक्ष पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा प्रेस चौतारी र एमाले पंक्तिमा राजेश राईलाई नै अध्यक्ष बनाउने तयारी रहेकै सन्देश गएको थियो । किनकि अरु दुई उपाध्यक्ष सविन प्रियासन र देविका घर्तिमगर नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन् । सविन केन्द्रीय सचिव र देविका केन्द्रीय सदस्य छन् ।
अध्यक्ष पदका अर्का आकांक्षी हुन्, महासचिव हिरामान लामा । तर लामा र राईबीच एकअर्कालाई छोड्न समस्या नरहेको बताइरहेका थिए । राजेश राई सिनियर भएकाले उनलाई अध्यक्ष मानेर संगठनमा रहन लामा तयार रहेको स्रोत बताउँछन् ।
अर्थात् गणेश पाण्डे प्रचार विभाग सचिव नियुक्त भएपछि राई सर्वसम्मत अध्यक्ष बन्ने परिस्थिति सिर्जना भएको थियो । प्रमुख पदमा दोहोरो भूमिका लिन नहुने एमालेको वैधानिक व्यवस्था भएकाले पनि राईलाई चौतारीभित्र भावी अध्यक्षका रुपमा प्रचार गरिन थालेको थियो ।
तर नेताहरूका अनुसार ६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टिएको छ । बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यस रात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका छन् ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार एक हप्ता लामो प्रयत्नपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले एक हप्तादेखि विभिन्न तरिकाले छलफल गरिरहेका थियौं । अब (गणेश पाण्डे) चौतारीको अध्यक्ष हुने भएपछि प्रचार विभाग सचिव स्वतः रिक्त भयो,’ गौतम भन्छन् ।
यसरी अध्यक्ष ओलीले नै निर्णय सच्याएपछि राईले सामाजिक सञ्जाल मार्फत अध्यक्ष पदको घोषणा गरेका छन् । राई र पाण्डे अघिल्लोे राष्ट्रिय सम्मेलनमा पनि अध्यक्ष पदका आकांक्षी थिए । तर गणेश बस्नेत नै अध्यक्ष दोहोरिएपछि दुवै जना उपाध्यक्ष बसेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १३ : २८
लेखकबाट थप