इटाली घरमै जर्मनीसँग निराश, फ्रान्सविरुद्ध क्रोएसियाको जित

एजेन्सी

शुक्रबार, ०८ चैत्र २०८१, ०९ : ३४
इटाली घरमै जर्मनीसँग निराश, फ्रान्सविरुद्ध क्रोएसियाको जित

एजेन्सी । यूईएफए नेसन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा इटालीले घरेलु मैदानमै जर्मनीसँग २–१ को हार व्यहोरेको छ ।

बिहीबार राति सान सिरोमा सुरुआती अग्रता बनाए पनि इटालीले त्यसलाई जोगाउन सकेन । खेलको नवौँ मिनेटमै सान्ड्रा टोनालीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा दुई गोल गर्दै जर्मनीले पहिलो लेगमा अग्रता बनाएको हो । जर्मनीका टिम क्लेनडिन्स्टले ४९औँ मिनेटमा गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए । ७६औँ मिनेटमा लियोन गोरेट्ज्काले निर्णायक गोल गरे । 

यी दुई टिमबीचको दोस्रो लेग आउँदो सोमबार जर्मनीको मैदानमा हुनेछ । जित्ने टिमले प्रतियोगिताको सेमिफाइनलमा पोर्चुगल र डेनमार्कबीचको विजेतासँग खेल्ने तय छ । 

क्रोएसिया २–० फ्रान्स
बिहीबार राति नै भएको अर्को खेलमा विश्वकप उपविजेता समेत रहेको फ्रान्स क्रोएसियासँग २–० ले पराजित भएको छ । 

क्रोएसियामा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन एन्टे बुडिमिर र इभान पेरिसिचले गोल गरे । क्रोएसियाले दुवै गोल पहिलो हाफमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस