धादिङ । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियुको कार्यालयमा तालाबन्दी गरिएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीले स्ववियु कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै सङ्गठन वा पार्टीको स्वार्थमा चल्न नहुने र २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको अवस्थामा प्रशासनले त्यसलाई मान्यता दिन नहुने माग राख्दै तालाबन्दी गरेका हुन् ।
स्ववियु निर्वाचन निर्देशिका २०८१ ले २०७९ सालको स्ववियुको कार्यकाल चैत ४ गतेदेखि स्वतः सकिने उल्लेख छ । तर, कलेज प्रशासनले पुरानै स्ववियुलाई ब्युँताउने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।
क्याम्पस प्रशासनले बेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिनेगरी संगठनको काम कारबाही अगाडि बढाएको अखिल क्रान्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले बताए ।निर्वाचनको कुनै पनि प्रक्रिया अगाडि नबढाएको तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउनुपर्ने माग अघि सारिएको अध्यक्ष रिजालले बताए ।
विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिए । दुवै सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको लापरबाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन नसकेको आरोप लगाएका छन् ।
कुनै सङ्गठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय भएको उनीहरूको भनाइ छ । स्ववियु कार्यकक्षमा गरिएको तालाबन्दी माग पूरा नभएसम्म कुनै पनि हालतमा निर्वाचन प्रक्रियामा सहभागी नहुने समेत जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १६ : २४
लेखकबाट थप