सरकारले आफ्नो कुरा नसुनेको गोकुल बास्कोटाको गुनासो

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०८१, १२ : १८
सरकारले आफ्नो कुरा नसुनेको गोकुल बास्कोटाको गुनासो

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो कुरा सरकारले नसुनेको गुनासो गरेका छन् । बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

एसई परीक्षा सुरुआत भएको उल्लेख गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीको भने स्कुलमा पुग्दा आँखाभरी धुलो अवस्था रहेको बताए । ‘कोरीबाटी गरेर विद्यार्थीहरूलाई स्कुल पठाउने कुरा हुन्छ । तर, साँगादेखि धुलिखेलसम्म २४ सै घण्टा धुलो उड्छ । र एसई परीक्षा दिन जाने विद्यार्थीहरू स्कुल पुग्दा आखा नदेख्ने स्थिति हुन्छ । उनीहरूले जाँच कसरी दिन्छन् ?’ सरकारलाई बास्कोटाको प्रश्न छ ।

साँगादेखि धुलिखेलसम्मको सडकको विषयमा आफूले पटक–पटक कुरा उठाउँदै आएको उनले बताए । ‘मेरो भनाइ यत्ति छ- सरकारले दुई पटक त्यो निर्माणधिन बाटोमा पानी हाल्ने काम गरोस् ।’

त्यस क्षेत्रमा गाडी दुर्घटना पनि एकदमै बढेको उनले बताए । ‘गाडी दुर्घटना पनि एकदमै बढिरहेको छ । मैले धेरै पटक भनें । सरकारले सुन्या चाहीँ छैन । गाडी ठोक्या ठोक्यै, अघिल्लो गाडीले पछिल्लो देख्दैन । ट्वाक, ट्वाक, ड्याम, ड्याम ठोक्किन्छ । बाइक लड्या लड्यै हुन्छ । सडक विभाग हेर्‍या हेरै हुन्छ’, बास्कोटाले भने ।

गत असोजमा गएको बाढीका कारण भएको समस्याको समाधान हुन नसकेको भनेर उनले सरकारले द्रुत गतिमा काम नगरेको बास्कोटाले बताए ।एमाले सांसद बास्कोटाले काभ्रेको बेथानचोक गाउँपालिकामा लागेको आगलागीको विषयमा समेत सरकारको ध्यानाकर्षण गरे ।

बेथानचोक गाउँपालिकाको वडानम्बर ५ र वडा नम्बर ३ मा ३ दिनदेखि आगलागी भइरहेको बास्टोले बताए । तर, नियन्त्रणमा सरकारको ध्यान पुग्न बाँकी रहेको भन्दै ध्यानाकर्षण गरे । ‘आगो बस्तीको छेउछाउ आइसकेको छ । र त्यो फैलिएर ६ नम्बर, २ नम्बर, १ नम्बरमा जाँदैछ’, उनले भने

यो क्षेत्र महाभारत रेञ्जकै सबैभन्दा अग्लो नारायणथानको मुनि रहेको उनले बताए । नारायणथान ३ हजार १८ मिटर अग्लो छ । ‘सरकारलाई थाहा छ, सबैलाई थाहा छ । यो साल पान परेन । हिउँ नै कालापथ्थर जस्तो भइसक्यो । त्यो आगलागी नियन्त्रण गर्नुपर्छ नत्र बस्ती जोखिममा हुन्छ भन्ने कुरामा मैले सरकारको ध्यानाकर्षण गर्न चाहें’, बास्कोटाले भने ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति यसमा केन्द्रित हुन आवश्यक रहेको र यसले आफ्ना संयन्त्र परिचलान गर्नुपर्ने उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस