पोखरा । नेपाल विद्यार्थी संघभित्रको आन्तरिक विवादले इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा अनसन, नाराबाजी र विरोध प्रदर्शनका बीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन जारी छ ।नेविसंघको एउटा समूहले सोमबारदेखि नै क्याम्पसमा रिले अनसन गरिरहेको छ भने अहिले नाराबाजीसहित प्रदर्शन भइरहेको छ । कडा सुरक्षाका बीच भित्र मतदान भने जारी छ ।
नेविसंघबाट स्ववियु सचिव पदमा मनोनयन नै नभएपछि आन्तरिक विवादले क्याम्पसमा विरोध प्रदर्शन भइरहेको हो ।केन्द्रको आधिकारिक परिपत्रविपरीत नेपाली कांग्रेस कास्की जिल्ला नेतृत्वले सचिव पदमा मनोनयन नै गराउन नदिएको भन्दै एउटा समूहले विरोध गर्दै फेरि मनोनयन गर्न माग गरिरहेको छ ।
तर, जिल्ला नेतृत्वले सचिव उम्मेदवारविनै चुनावमा जान निर्वाचन समितिलाई सहमति दिएपछि अहिले विरोध र नाराबाजीका बीच मतदान भइरहेको हो ।
नेविसंघले सौगात पण्डितको अध्यक्षतामा निर्वाचनमा जान मनोनयन दर्ता गराएका थिए । तर, सचिव पदमा आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै मनोनयन पत्र नै च्यातिएको नेविसंघकै एउटा समूहले आरोप लगाइरहेको छ ।
नेविसंघ केन्द्रीय कमिटीले सचिवको उम्मेदवार प्रशान्त उपाध्यायलाई बनाउन भन्दै परिपत्र नै गरेको छ ।नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नामबाट परिपत्र भए पनि कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायतले सचिवबिनै निर्वाचनमा जाने वातावरण बनाएको भन्दै नेतृत्वप्रति नेविसंघका नेताहरु रुष्ट छन् । त्यसैको विरोधमा एउटा समूहले सोमबार टायर बालेर विरोध प्रदर्शन गरेको थियो भने अहिलेसम्म पनि रिले अनसन जारी राखेको छ ।
क्याम्पस गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बाहिर विद्यार्थीहरुलाई मतदान गर्न जानबाटसमेत रोक्ने प्रयास भइरहेको छ ।निर्वाचन समिति संयोजक दीपक थापाले सर्वदलीय सहमतिकै आधारमा निर्वाचन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
‘भित्र मतदान चलिरहेको छ । अहिलेसम्म करिब ३ सय जनालेमात्र मतदान गरेका छन् । बाहिर गेटमा क्याम्पसका मात्रै होइन, बाहिरबाट पनि विद्यार्थीहरु आएर नाराबाजी गरिरहेको जानकारी प्राप्त भएको छ,’ निर्वाचन अधिकृत थापाले भने, ‘सुरक्षाकर्मीलाई विद्यार्थी परिचय पत्र हेरेर मतदानका लागि पठाउन आग्रह गरिएको छ तर हुलका कारण समस्या भइरहेको गेटबाट जानकारी आएको छ ।’
क्याम्पसभित्र होस्टेलमा बस्ने विद्यार्थीहरुबाट सुरुमा स्ववियुको मतदान सुरु भएको थियो ।केन्द्रको परिपत्र हुँदाहुँदै सचिवबिनै निर्वाचन अगाडि बढ्ने देखेपछि तालाबन्दी गरिएको र कास्की सभापतिलगायत केही नेताले खेल्ने प्रयास गरेको उनीहरुको आरोप छ । नेविसंघका विद्यार्थीले आफूले भनेको मान्छे सचिव नपाएपछि रेजिना खड्काले मनोनयन पत्र नै च्यातेकोसमेत आरोप लगाइरहेका छन् ।
२०७९ को चुनावमा नेपाल विद्यार्थी संघकै आन्तरिक विवादका कारण क्याम्पसको चुनाव बिथोलिएको थियो । यसपटक चुनाव गराउने सर्वदलीय सहमति भएको थियो तर सबैलाई मत खसाल्ने वातावरण भने बन्न नसकेको विद्यार्थीहरुले गुनासो गरिरहेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानमा २ हजार ४१ मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १३ : १७
लेखकबाट थप