परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै

सफल खबर संवाददाता

आइतबार, ०३ चैत्र २०८१, ०८ : ५८
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै

काठमाडौं । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छिन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि बाताबरण बनाउन निक्कै नै कम्मर कसेर लागेकी मन्त्री राणा फागुन २९ मा नयाँ दिल्ली पुगेकी छिन् ।

भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा दर्शन तथा पूजाआजा गरेपछि उनी सिधै दिल्ली पुगेकी हुन् । असार ३१ मा परराष्ट्र मन्त्री भएपछि राणाको यो तेस्रो भारत भ्रमण हो ।

भारतले राणालाई पहिलो पटक भ्रमणमा जाँदा नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा दिने जत्तिकै महत्व दिएको थियो । यधपी, दोस्रँे पटक सिधै यूरोपबाट भारत पुगेकी राणालाई त्यसबेला भने भारतीय सस्थापन पक्षले खास महत्व दिएका थिएनन । अहिले पनि उनी झारखण्डस्थित बाबा वैद्यनाथधाममा दर्शन तथा पूजाआजा गरेर  दिल्ली  पुगेकी छिन् ।

मन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले स्वागत गरेका थिए।  
मन्त्री राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ ९ओआरएफ० द्वारा यही मार्च १७ देखि १९ सम्म (चैत ४ देखि ६ सम्म) नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेगरी यसपटक दिल्ल्ी पुगेकी हुन् ।

त्यस अगाडी उनले भारतका विदेशमन्त्री एस जयशङ्कर तथा अन्य मित्रराष्ट्रका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम बनाएकी छिन् । उक्त डयलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरूको सहभागिता रहने बताईएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका लागि कोसिस गर्दा पनि सफल हुन सकिरहेका छैनन । प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन नसक्दा परराष्ट्र मन्त्री राणा समेत हायलकायल भईरहेकी छिन् ।

उनको समेत भारतसँगको सम्वन्धमा जसकाकारण अनेक उतारचढावहरु देखा परिरहेका छन् ।

राणाको विदेश भ्रमणमा मात्रै प्राथमिकता

परराष्ट्र मन्त्री डा आरजु राणाको मन्त्री भएयता विदेश भ्रमणमा मात्रै प्राथमिकता पर्न थालेको छ । हुनत परराष्ट्र मन्त्रीको कार्यतालिका नै विदेशी राष्टहरुसँगको नेपालको सम्वन्धलाई बलियो बनाउने जिम्मेवारी हो । त्यसक्रममा उनको विदेश भ्रमण बाक्लो हुनुलाई त्यक्ति अन्यथा लिईँदैन । तर त्यसरी गरिएका भ्रमणपछिको नेपालको उपलब्धी के रह्यो भन्ने कोणबाट भने टिप्पणीहरु हुने गर्छन ।

परराष्ट्र मन्त्री राणाले कार्यभार सम्हालेको २४१ दिन पूरा भएको छ । यो बीचमा उनले झण्डै एक दर्जन बढी देशहरुको भ्रमण गरिसकेकी छिन् । त्यसक्रममा उनले झण्डै ६० दिन अर्थात दुई महिना जति त विदेशी भूमिमै विताएकी छिन् । जम्माजम्मी १८७ दिनमात्रै परराष्ट्र मन्त्री राणाले नेपालमा विताएकी छिन् ।

मन्त्री भएयता साउन महिनामा ५ दिन, असोजमा १४ दिन, मंसिर र पुसमा २४ दिन, माघमा ४ दिन, फागुनमा ४ दिन र अहिले चैतमा समेत भारत भ्रमणमा रहेकोले राणाको भ्रमण विदेशमा बाक्लै देखिएको छ ।

कात्तिकमा चाडपर्व परेकोले उनको भ्रमण नदेखिएपनि मंसिरमा भने करिव महिना दिन जसो नै उनको अनेक विदेशी भूमिमा भ्रमण भएको थियो ।

कहाँ -कहाँ गरिन् भ्रमण ?

परराष्ट्रमन्त्री राणाले मन्त्री भएपछि नै पहिलो भ्रमण नयाँ दिल्ल्ीबाट गरेकी थिइन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण गराउने उदेश्य बोकेर राणा नेतृत्वमा नेपाली भ्रमण टोलीले २०८१ भदौं २ देखि ६ गतेसम्म भारत भ्रमण गरेको थियो । त्यही भ्रमणका क्रममा राणालाई भारतीय सरकारले उच्च महत्व दिएको थियो ।

परराष्ट्र मन्त्रीका रुपमा राणाले भारतमा नेपालका प्रधानमन्त्रीले पाउने गरेझै सम्मान पाएपनि उनले प्रधानमन्त्री ओलीको भ्रमणको वातावरण भने तयार पार्न सकिनन् । उल्टै राणा दोस्रँे पटक भारत भ्रमणमा जाँदा उनलाई कार्यक्रममा अतिथि बोलाएको भन्दै विदेश मन्त्रालयले भाजपाकै नेता समेत रहेका राम माधवलाई स्पष्टिकरण समेत सोधेको भारतीय सञ्चारमाध्यमहरुले समाचार बनाएका थिए ।

दोस्रो पटक उनी पुस २ गते भारत पुगेकी थिइन् । यूरोप भ्रमणमा रहेकै बेला सिधै त्यत्तैबाट उनी भारत पुगेकी थिइन् । त्यहाँ उनले ५ दिन विताएपनि सस्थापन पक्षका नेताहरुसँग उनको भेटघाट भएन । उनले भारतीय समकक्षीलाई समेत भेटन पाइनन् ।

अहिले भने उनले जयशंकरलाई भेटने कार्यक्रम रहेको उनको सचिवालय स्रोतले बताएको छ ।
राणा मन्त्री भएर पहिलो पटक भारत भ्रमण बाट फर्केपछि भने २०८१ असोज ४ देखि १४ सम्म प्रधानमन्त्री केपी ओलीसँगै संयुक्त राष्टसंघको महासभामा भागलिन न्यूयोर्क पुगेकी थिइन् । यधपी ओलीकै भ्रमण टोलीमा त्यसबेला न्यूयोर्क रहेपनि राणाले न्यूयोर्क जानु अगाडी  २०८१ असोज ३ देखि ४ सम्म क्यानडाको टोरेन्टोमा आयोजना भएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागिता जनाएकी थिइन् ।

त्यसपछि राणाले असोज १६ देखि १७ गतेसम्म कतारको राजधानी दोहामा भएको एसिया कोअपरेसन डायलगको तेस्रो शिखर सम्मेलनमा भाग लिएकी थिइन् । त्यसपछि भने राणाले चीनको औपचारिक भ्रमण गरेकी थिइन् ।

दक्षिणी छिमेकी मुलुक भारतमा प्रधानमन्त्रीको भ्रमण हुन नसकिरहेको बेला चीन भ्रमणको तयारीका लागि उनी चीन पुगेकी थिइन् । लगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमण भयो । उक्त भ्रमण दलको सदस्यका रुपमा पनि राणा चीन फेरि दोहोराएर पुगेकी थिइन् ।

२०८१ मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री केपी ओलीले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गरेका थिए ।

त्यसपछि भने मन्त्री राणाको झण्डै महिना दिन लामो विदेश भ्रमण भयो । उनले नेपाल नै नफर्कि लामो समय एक देशबाट अर्काे देशको भ्रमण सूची तयार पारिन् । उनी २०८१ मंसिर १७ देखि २७ सम्म नेदरल्याण्डसको हेगस्थित अन्तराष्ट्रिय न्यायलयमा आयोजना भएको बहस कार्यक्रममा सहभागी हुन मंसिर २२ गते त्यसतर्फ लागिन् । त्यहाँबाट उनले भारतको समेत भ्रम्ण गरेर सिधै पुस ८ मा मात्र स्वदेश फर्केकी थिइन् ।

प्रतिक्रिया दिनुहोस