गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, ११ : ५४
गैरसरकारी संस्था महासंघकाे अध्यक्षमा भट्टराई

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ (एनजीओ फेडेरेसन) नेपालको अध्यक्षमा अर्जुनकुमार भट्टराई निर्वाचित भएका छन् । महासङ्घको ११ औँ महाधिवेशन भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाचन गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा सञ्जय लम्साल निर्वाचित भएको छन् । यसैगरी महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा, साथै कोषाध्यक्षमा गोविन्दबहादुर शाही निर्वाचित भएका छन्। केन्द्रीय कार्यसमितिमा ५१ जना रहने व्यवस्था छ। बाँकी ३ जना सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।

फागुन २५ देखि २७ गतेसम्म भएको राष्ट्रिय नागरिक सम्मेलन, ३० औँ वार्षिक साधारण सभा र ११ औँ महाधिवेशन  गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९ सय २३ जना गैसस प्रतिनिधिहरूको सहभागिता थियो । नागरिक राष्ट्रिय नागरिक सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

यस अवसरमा विभिन्न विषयगत सत्र र कार्यशालाहरूको पनि आयोजना गरिएको थियो । जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र उत्थानशीलता विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

अति कम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नति पश्चातको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापन विषयमा साथै  हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाहरूको दिगोपना र उत्थानशीलताका चुनौती र कार्यदिशाबारे पनि छलफल गरिएको छ ।

प्रधानमन्त्री र प्रमुख दलका नेताहरूको उपस्थितिमा सामाजिक सङ्घ संस्थाहरूले सामना गरेका नीतिगत र कार्यगत चुनौती, सामाजिक सङ्घ संस्थाहरू र सामाजिक अभियानको दिगोपना र त्यसका लागि आवश्यक पर्ने नीति र कार्य वातावरणको लागि अनुरोध गरिएको छ ।

विभिन्न विषयगत कार्यशाला र राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षका रूपमा काठमाडौँ घोषणापत्र जारी गर्ने तयारी भएको महासङ्घका उपमहासचिव किरण थापाले बताए ।

प्रतिक्रिया दिनुहोस