मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

सफल खबर संवाददाता

शुक्रबार, ०१ चैत्र २०८१, ०७ : ३२
मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै

महोत्तरी । मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ । 

जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन् ।

मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ । अहिले पञ्चकोशी परिक्रमाका यात्री  जनकपुरधामको अन्तरगृह परिक्रमा पथमा अटुट मानवपङ्क्ति देखिँदो छ । यो अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यस वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन् ।

मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ । परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आपूmभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन् । यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ ।

अन्तरगृह यात्रामा मध्यमा परिक्रमामा सरिक हुन नसकेका सर्वसाधारण पनि सरिक हुन्छन् । मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्म यात्रा गरे पनि पुण्य प्राप्त हुने मैथिल जनविश्वास छ । यसै विश्वासले आज महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँका सङ्ख्यामा सर्वसाधारण अन्तरगृह परिक्रमामा सरिक भएका छन् ।

मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा सुरू भएको दिन होली पर्व मनाउने परम्पराअनुसार आज पर्व मनाउने तयारी छ । मध्यमा परिक्रमाको एक सय ३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाइने चलन छ । यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । निर्धारित वृत्तभित्रका १५ ठाउँ रात्रिविश्राम गरेर १६औँ दिन बिहान सम्पन्न गरिने मिथिला मध्यमा परिक्रमा यात्रा कल्याण र मोक्षको कामनासाथ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस