काठमाडौं । १८ हजार दिन पार्टी नेतृत्व सम्हालेका नारायणमान विजुक्छे (रोहित) थप १४४० दिन नेतृत्व सम्हाल्न कस्सिएका छन्न l
रायणमान विजुक्छे रोहितको उमेर कति पुग्यो होला ? अनुमान लगाउन सक्नुहुन्छ ? अनि उनले पार्टी नेतृत्व सम्हालेको कति वर्ष पुग्यो होला ?
तपाईं सुन्दा र पढ्दा पनि अचम्म मान्नु होला । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष विजेक्छे अहिले ८५ वर्षका भए । आजको ५ दिनपछि (फागुन २६) ठ्याक्कै विजेक्छेले ८५ वर्ष पूरा गरेर ८६ वर्षमा पाइला टेक्नेछन् ।
८६ वर्षको बुढो उमेरमा उनलाई 'वर्थ डे गिफ्ट' मिलेको छ– आफैंले जन्माएको, आफैंले हुर्काएको, सम्हालेको पार्टीलाई थप चार वर्ष नेतृत्वदायी भूमिका निर्वाह गरेर हाक्ने । अर्थात, ५० वर्षदेखि एकछत्र नेतृत्व आफैंले मात्रै सम्हाल्दै आएको पार्टी फेरि सम्हाल्ने जिम्मा विजुक्छेले नै पाएका छन् ।
विक्रम संम्वत् १९९६ साल फागुन २६ गते भक्तपुरको सुकुलढोका ५ मा जन्मिएका थिए विजुक्छे । त्यसपछि उनले आफ्नै नेतृत्वमा २०३१ माघ १० मा नेपाल मजदुर किसान पार्टी निर्माण गरेका थिए । उक्त पार्टीको फागुन १६ देखि भक्तपुरमा आठौं महाधिवेशन चलेको थियो । फागुन २० गते साँझ सकिएको महाधिवेशनले विजुक्छेलाई ५० वर्षसम्म आफैले सम्हालेको पार्टी अव थप ४ बर्ष फेरि सम्हाल्न जिम्मा दिएको छ ।
उनको नेतृत्वमा नेमकिपाले फेरि बलियो प्रतिपक्षी भूमिका निर्वाह् गर्ने, जनताका बीचमा पार्टी संगठनलाई विस्तार गर्ने जस्ता निर्णय लिएको छ ।
विजुक्छे यस्ता नेता हुन्, जसले पार्टी नेतृत्वमा मात्र होइन, संसदीय राजनीतिमा पनि लगातार ५ पटकसम्म चुनाव जितेर इतिहास बनाएका छन् । तर ५ पटक सम्म लगातार चुनाव जित्दा पनि उनले कहिल्यै सत्तामा आखाँ भने लगाएनन् । अस्थिर राजनीतिक चक्रले जेलिएको नेपालको राजनीतिमा उनले चाहेका भए जुनकुनै बेला मन्त्री बन्न उनलाई र उनको पार्टीलाई रोक लाग्ने थिएन । तर न उनी आफु सरकारमा मन्त्रीको लालसामा गए, न पार्टीलाई नै सरकारको समर्थन गर्न लगाए ।
निरन्तर शसक्त र खरो प्रतिपक्षीको भूमिकामा नेमकिपा सधैजसो रहिरह्यो ।
२०७२ सालमा संविधानसभाबाट संविधान निर्माण भएपछि यताका दुई चुनावमा भने नेमकिपा अध्यक्ष विजुक्छेले चुनाव लडेका छैनन । उनी जस्तै एक पटक नेतृत्व सम्हालेपछि आजीवन प्रमुख भईरहन चाहने नेताहरुले चुनावजित्ने सुनिश्चित भएका बेला अरुलाई टिकट सुम्पेको इतिहास छैन ।
तर उनले भक्तपुर १ मा नेमकिपाले स्वतः चुनाव जित्ने हुँदा पनि पछिल्लो दुई चुनाव लडेनन् । प्रेम सुवाललाई उम्मेदवारी छोडेर उनी सहज पार्टी जिम्मामा मात्र केन्द्रीत रहिरहे । केन्द्रीय सांसद भईसकेका नेतालाई भक्तपुर नगरपालिकाको मेयर बनाउने, आफुले जित्दै आएको र अरुले जित्न नसक्ने बलियो पकड बनाएको क्षेत्रमा अरुलाई नै उम्मेदवारी छोडेर २०७४ मै उदाहरण बनेका विजुक्छेलाई ८६ वर्ष टेक्न लाग्दा समेत पार्टी नेतृत्व सम्हाल्ने लालचा किन लाग्यो होला ?
संसदीय राजनीतिमा आफ्ना उत्तराधिकारी बनाएका प्रेम सुवाललाई पार्टीमा पनि आफु पछिको नेता (सचिव) बनाएका विजुक्छे (रोहित)ले पार्टीमा उत्तराधिकारी नै नपाएका हुन् त ?
विजुक्छे भने,-'साथीहरुले नयाँ-नयाँ साथीलाई काम दिने , पार्टी नेतृत्व चही तपाईले नै सम्हाल्ने भन्ने आग्रह गर्नुभयो । हामी सँग कार्यकर्ता कम छ , नयाँ साथीहरुलाई नयाँ ठाउमा पठाउनुपर्छ । नया नेतृत्व आउदा फेरि पार्टीमा के होला ,कसो होला भन्ने चिन्ता राख्नुभयो । कार्यकर्ता पनि कम भएर नै नेतृत्व दिएका हुन् । म दुई चार दिन दौडिन्छु, एक दिन आराम गर्छु । उमेरको रोग सबैलाई हुन्छ । तर जहिले सकिन्छ त्यहिलेसम्म संर्घष गर्ने, योगदान दिने निस्वार्थ भएर । समर्पित भएर काममा लाग्छु । १४ साल देखि पार्टीमा लागेको । केही गुनासो पनि छैन ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदाचार अहिलेको आवश्यकता : नारायणमान विजुक्छें