काठमाडौं । दशैंको फूलपातिमा रिलिज हुन लागेको फिल्म ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ । निर्माताले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै असोज १३ गते फिल्म प्रदर्शन तय गरेका हुन् ।शीर्ष अभिनेता समीर भट्टलाई चित्रण गरिएको दुई पोस्टरमा एक्सन भाव र सेटिङ प्रस्तुत छ । एउटा पोस्टरमा मुख्य पात्र शवले छरिएको मैदानबाट अघि बढ्दै गरेको देखिएका छन् । अर्को पोस्टरमा कालीमाताको भव्य मूर्तिअघि मुख्य पात्र त्रिशुल र खड्ग लिएर उभिएका छन् ।
यो एक्सन र पलिटिकल ड्रामालाई सन्तोष सेनले निर्देशन गरेका हुन् । पोस्टर सार्वजनिक गर्दै सेनले फिल्मले जहाँसुकैको शोषण र शोषित वर्गको चित्रण गर्ने उल्लेख गरेका छन् । पोस्ट(प्रोडक्सन कार्य सुरु भएको र दशैंको आसपासमा सबै काम सकिने उनले जनाएका छन् ।
चाँडै फिल्मको टिजर ल्याउने प्रतिबद्धता उनले जनाएका छन् । समीरका बुवा तथा अभिनेता विराज भट्टले पनि पोस्टर सेयर गरेका छन् । विराज निर्देशित ‘१२ गाउँ’बाट समीरले रजतपटमा डेब्यु गरेका थिए ।
४ महिना लगाएर फिल्मको छायांकन फागुन पहिलो साता सकिएको थियो । फिल्ममा समीरसहित ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरसिया लगायतको अभिनय छ । दक्षिण भारतीय स्टन्डर सामले एक्सन कोरियोग्राफी गरेका छन् । फिल्ममा पवन ब्राडफोर्ड बिष्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्मातामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १५ : १२
लेखकबाट थप