सर्लाही । बरहथवा नगरपालिका-१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे । तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई फर्कायो ।
त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु. छ सय ५० तिरेर भ्याक्सिन लगाए । तीन-तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुगे । तर, चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरी निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाए । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाए।
शुक्रबार अस्पताल परिसरमा भेटिएका उनले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताए । अस्पतालले रु. दुई सय लिने भ्याक्सिन बाहिर रु. छ सय ५० तिर्नु पर्दा महँगो परेको उनले बताए ।
“गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन भनेर फर्काउँछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उनले भने ।
चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उनले भने, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ फागुन २०८१, १२ : ०७
लेखकबाट थप