एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडिओ एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन्।
‘हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन्। टिकटकमा ठूलो चासो छ’, ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग भने, ‘हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन्। हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ, किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ, म टिकटक जीवित रहेको हेर्न चाहन्छु।’
सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पले बताए।
बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्ताले लागू गरिएको अमेरिकी कानुनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ।
यो कानुन ट्रम्पले शपथ खानुभन्दा एक दिनअघि जनवरी १९ मा लागू भयो। तर ट्रम्पले तुरुन्तै ढिलाइको घोषणा गरेपछि यसलाई सञ्चालन जारी राख्न अनुमति दिइएको छ। त्यो ढिलाइ अप्रिल ५ मा समाप्त हुने तय गरिएको छ।
‘सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु।’
ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गर्नुभएको थियो तर अहिले यसप्रति सकारात्मक भएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १९ चैत्र २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानद्वारा ट्रम्पसँग प्रत्यक्ष वार्ता अस्वीकार, अप्रत्यक्ष वार्ताका लागि तयार
ट्रम्प प्रशासनद्वारा यूएसएडको औपचारिक योजना घोषणा
ट्रम्पले कारमा लगाए २५ प्रतिशत भन्सार, बढ्यो व्यापार युद्धको खतरा
५ लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय
शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर
ट्रम्प र पुटिनबीच ९० मिनेट फोनवार्ता, के भयो कुराकानी ?