जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप : देव गुरुङ

सफल खबर संवाददाता

शुक्रबार, ०९ फागुन २०८१, १६ : ००
जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप : देव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप भएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव गुरुङले जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको भन्दै यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध रहेको बताए ।

‘उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। राष्ट्रियता अन्ततः सामाजिक सम्बन्धको स्वरूप नै हो। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन’, गुरुङको भनाइ छ ।उनले निजी सम्पत्तिको उत्पत्तिपूर्व वर्गीय विभाजन नभएको र त्यो समाजमा जातीय विभेद नभएको बताए ।

‘राष्ट्रियता र समाजवादी क्रान्ति एकअर्कासँग निर्भर छन्। समाजवादले मात्र वर्गीय र जातीय समस्याको सम्बोधन गर्न सकिन्छ। उत्पादनका साधनहरूमाथि जनताको स्वामित्व कायम गरेर मात्र यो कार्यभार पूरा हुन्छ, यो बुझाइमा हामी स्पष्ट हुन जरुरी छ’, गुरुङको भनाइ छ ।

एमाले सामन्तवादको प्रतिनिधि

भेलामा गुरुङले कम्युनिस्ट आन्दोलनको माओवादी केन्द्रले मात्र गर्न सक्ने भन्दै त्यो काम एमालेले गर्न नसक्ने बताए । ‘एमाले सामन्तवादको प्रतिनिधि हो, दलालहरूको पार्टी भइसकेको छ। एमालेबाट समाजवादको कल्पना गर्न सकिन्नँ, त्यसको नेतृत्व हामीले नै गर्नुपर्छ’, गुरुङको भनाइ छ । 

पूर्वसभामुख तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य ओनसरी घर्तीले उत्पीडित जाति र समुदाय शक्तिशाली भए मात्र बलियो राष्ट्रिय एकता कायम हुने बताइन् । 

‘उत्पीडितहरूको पक्षमा माओवादी पार्टीले अविराम संघर्ष गरेको छ। माओवादी पार्टीको संघर्षकै कारण उत्पीडित जातिहरूले अधिकार पाएका छन्। आज जनयुद्धका उपलब्धि खोस्ने कुचेष्टा भइरहेको छ’, उनले भनिन् ‘त्यसका विरुद्ध निरन्तर संघर्ष जरुरी छ। यो तथ्यलाई हामी सबैले बुझ्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस