काठमाडौँ । नेपाली निर्देशक भीमसेन लामा निर्देशित ब्रिटिश फिल्म ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म मार्च ७ मा २६० बढी सिनेमा घरमा एकसाथ प्रदर्शन हुन लागेको हो ।
सस्पेन्स, एक्सन र थ्रिलरको बिषयमा निर्माण भएको फिल्म विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । फिल्ममा हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा छन् ।
विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको फिल्मको कथा स्व. बिसारद बस्नेतको हो भने स्क्रिप्ट हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।
अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको ‘कामा’ ले इटलीमा सम्पन्न मिलान इन्टरनेशनल फिल्म मेकर फेष्टिभलमा सर्वाेत्कृष्ट फिल्म, सर्वाेत्कृष्ट स्क्रिप्ट, सर्वाेत्कृष्ट अभिनेता र सर्वाेत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो ।
त्यसैगरी, म्याड्रिड इन्टरनेशनल फिल्म फेष्टिभल–२०२४ मा सर्वाेत्कृष्ट अभिनेता, सिनेमा टोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो । थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ । लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता, निर्माता बिक्रम जोशीले यसअघि ‘पासवर्ड’, ‘ह्याप्पी डेज’,‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ फिल्म निर्माण गरिसकेका छन् ।
‘कामा’ छिट्टै अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १२ : २५
लेखकबाट थप