पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, १६ : ५३
पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबिच साझेदारीको आवश्यकता रहेको बताएका छन् । बिहीबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै थापाले पूर्व राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

उनले भने– ‘राजाको यतिमात्रै चाहना रहेको छ । देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबिचमा साझेदारीको आवश्यक छ । राजाले फेरि निरङ्कुश व्यवस्था र राजसंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन ।

राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढङ्गबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको उनले बताए । राजाको सदाशयतालाई नकारात्मक रूपमा लिन र टीका टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाई प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे ।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले राजा ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रूपमा ग्रहण गर्दै यो प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको र जनदबाब सिर्जना गर्ने काममा क्रियाशील बन्ने समेत उद्घोष गरे ।

कार्यक्रममा अर्थबिद डाक्टर विश्व पौडेल ,वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, भास्कर भद्रा र नीरज शाहले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस