काठमाडौं । पाटन उच्च अदालतले हिजो एक अन्तरिम आदेश जारी गर्दै प्रदर्शनको संघारमा रहेको बहुप्रतिक्षित चलचित्र ‘लाज शरणम’ को प्रचारप्रसारमा रोक लगाइदियो । अदालतबाट नेपाली चलचित्रमाथि हस्तक्षेप भएको एक महिनाभित्र यो दोस्रो घटना हो ।
यसअघि गत माघमा जिल्ला अदालत काठमाडौंले ‘एक्टर टेक वान’ को प्रदर्शन नै रोक्ने गरी आदेश दिएको थियो । सो आदेशका कारण निर्धारितभन्दा तीन दिन पछि चलचित्र रिलिज हुन सक्यो । यसबाट करोडौँ घाटा भएको गुनासो निर्माण पक्षले गर्दै आएको छ ।
चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टीमले बनाएको ‘लाज शरणम’ को रिलिज डेट आउँदा फागुन १४ गतेलाई तोकिएको छ । चलचित्रका प्रमुख पात्र सिताराम कट्टेल धुर्मुसले निभाएको चरित्रमाथि आपत्ति जनाउँदै पूर्वमन्त्री मोहम्मद अफताब आलमले रिट हालेका थिए ।चलचित्रको पोस्टर र टिजरमा उक्त पात्रको हुलिया आफूसँग मेल खाएको भन्दै उनले प्रदर्शन रोक्न माग गरेका थिए । आफूसँग अनुमति नलिईकन आफ्नो चरित्र उतारिएको आलमको आरोप छ ।
अदालतले चलचित्रको रिलिज रोक्न भनेको छैन । तर, चलचित्र सेन्सर पास नहुँदासम्म कुनै पनि माध्यमबाट प्रचारप्रसार नगर्न आदेशमा भनिएको छ ।
अन्तरिम आदेशमा लेखिएको छ, ‘ चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ३, ८ (१) बमोजिम चलचित्र निर्माण तथा प्रदर्शनका लागि चलचित्रको स्क्रिप्ट चलचित्र विकास बोर्डको सिफारिसमा नेपाल सरकार सञ्चार मन्त्रालयमा रहेको केन्द्रीय चलचित्र जाँच समितिमा अनुमतिका लागि पेश भई ऐ. दफा ८ (३) बमोजिम निर्णय भइसकेको अवस्था देखिएन । निवेदकको संविधान÷कानून प्रदत्त हक–अधिकारमा आघात परेको अवस्था भए अनुमति दिने क्रममा सपठीत ऐनको दफा ८ (३) बमोजिम केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिई रोक्न सक्ने नै देखिदा सो अगावै निवेदकको मुखाकृति र आवरणसँग हुबहु मिल्ने गरी पात्रले अभिनय गरेको प्रस्तावित ‘लाज शरणम’ नामक चलचित्रको विज्ञापन सामाजिक सञ्जाल तथा अन्य सार्वजनिक सञ्चारमाध्यमहरूमा प्रचार–प्रसार र सो सम्बन्धी पोस्टरहरू प्रकाशन, प्रशारण नगर्नु नगराउनू…’
उच्च अदालतका कामु मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश दिएको हो । सामाजिक सञ्जालमा थुप्रै चलचित्रकर्मीहरूले अदालतको यस्तो आदेशप्रति असन्तुष्टि पोखिरहेका छन् । अदालतको यो आदेशले चलचित्रको भविष्यमाथि नै प्रश्न उठेको छ ।
निर्माण पक्षले अदालतको आदेशमा कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, आज हुने भनिएको ट्रेलर रिलिज स्वतः रोकिएको छ । अब छिटोभन्दा छिटो सेन्सर पास गर्ने तयारी निर्माण पक्षले गरेको छ । सकेसम्म भोलि नै चलचित्र विकास बोर्डबाट सिफारिस लिएर सेन्समा पठाइने चलचित्र सम्बद्ध स्रोतले बतायो ।
‘अन्तिमको एउटा स्याड गीतबाहेक सबै काम लगभग सकिएको छ,’ स्रोतले भन्यो, ‘आज सार्वजनिक बिदा भएकाले भोलि मात्र सेन्सर प्रक्रियामा लैजान्छौँ ।’चलचित्रको भविष्य अब सेन्सर बोर्डको हातमा पुगेको छ । हुन त सबै चलचित्र सेन्सर बोर्डबाटै पास हुनुपर्ने हो । तर, अदालतको आदेशका कारण यो चलचित्रप्रति बोर्डका सदस्यहरू बढी संवेदनशील बन्नेछन् । यद्यपि, सेन्सर बोर्डले कुनै किचलो नगर्नेमा चलचित्रको निर्माण पक्ष ढुक्क देखिन्छन् ।
चलचित्रमा धुर्मुसको हुलिया अवश्य पनि मोहम्मद अफताब आलमसँग मिल्दोजुल्दो छ । तर, निर्माण स्रोतका अनुसार यो चरित्रसँग आफताबको कुनै पनि लेनादेना छैन । ‘हुलिया मात्रै मिलेको हो, चरित्र उनको होइन,’ स्रोतले भन्यो, ‘सेन्सरले औँला उठाउने ठाउँ छोडेका छैनौँ ।’समाचारहरूमा आए अनुसार चलचित्रमा धुर्मुसले एक भारतीय व्यापारीको भूमिका निभाएका छन् । यो एउटा हास्यप्रधान चरित्र हो ।
नेपालमा कुनै पनि पब्लिक फिगरको हुलिया उतारेर अभिनय गर्ने सिलसिला पुरानो भइसकेको छ । हुलिया मात्र होइन, पात्रकै नक्कल गरिएका थुप्रै उदाहरण छन् । राजतन्त्र कालमै तत्कालीन राजा ज्ञानेन्द्रको नक्कल गरेर मनोज गजुरेल हिट भए ।उनले माओवादी अध्यक्ष प्रचण्डदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै आएका छन् । धुर्मुस स्वयम् पनि हालका प्रधानमन्त्री केपी शर्मा ओलीको अवतारमा देखिने गरेका थिए । कमेडियनहरुले अभिनेता राजेश हमालदेखि पत्रकार ऋषि धमलासम्मको हुलियासहित क्यारिकेचर गर्ने गरेका छन् ।
मानिसहरूले जिउँदो ईट्टाभट्टामा हालेर मारेको अभियोगमा दोषी प्रमाण भएका आलम आजीवन जेल सजाय खेपिरहेका छन् । उनले वारेसमार्फत ‘लाज शरणम’ विरुद्ध मुद्दा हालेका थिए । अधिवक्ता सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र रामेश्वर न्यौपानेले आलमको पक्षबाट बहस गरेको बुझिएको छ । यस्तै जेपीटी क्रियसनको तर्फबाट टिकाराम भट्टराईले बहस गरेका थिए । चलचित्र विकास बोर्डले पनि ‘लाजशरणम’को प्रतिरक्षा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १३ : ४६
लेखकबाट थप