सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ : एनपी साउँद

सफल खबर संवाददाता

मंगलबार, ०६ फागुन २०८१, १४ : २२
सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ : एनपी साउँद

काठमाडौं।  नेपाली कांग्रेसका नेता एनपी साउँदले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको जिल्ला शाखा अधयक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताएका हुन् ।

 

 

 

‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन’, पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउँदले भने, ‘पत्रकारका आवाज बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।

 

 

नेता साउँदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पत्रकारको भएको पनि बताए । ‘जनताका मुद्दाहरूलाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेसको हो । पत्रकारले आफ्नो दायित्वलाई बिर्सन हुँदैन’, उनले भने ।

नेपाल प्रेस युनियन जिम्मेवार बने अन्य संगठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउँदको भनाइ थियो । ‘सत्ता र सरकारलाई सीमा देखाउन सकिन्छ’, उनले भने, ‘समाजलाई मर्यादित बनाउन प्रेस पनि मर्यादित र उत्तरदायी हुन आवश्यक छ ।’ 

 

 

नेता साउँदले संसद्लाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए । ‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौं’, उनले भने, ‘संसद्लाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन ।’

प्रतिक्रिया दिनुहोस