खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती शुरू गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा बिराएर सामूहिक आलुखेती शुरू गरेका हुन् ।
'रु १५ हजारमा जग्गा भाडामा लिइएको छ,' मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भने, 'सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बिउ रोप्ने योजना बनाएका छौं ।' हालसम्म ८० मुरी आलुको बिउ रोपिसकिएको उनले जानकारी दिए ।
एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताए । प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो ।
आलुखेतीमा प्रतिट्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाई भैँसीको मल प्रयोग गरिएको छ । गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती शुरू गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।
'पहिलो चरणमा सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती शुरू गरिएको छ । आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ,' उनले भने, 'यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ । उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा २ हजार ४ सय रोपनीमा आलुखेती
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन