काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले कविता संग्रह 'औरा' सार्वजनिक गरेका छन्। शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा पहिलो कविता संग्रह 'औरा' सार्वजनिक गर्दै अभिनेता कोइरालाले कृति छोरीलाई उपहार स्वरुप तयार गरेको जानकारी गराए।
'कोभिड पछाडि अचानक के महसुस भयो भने हामी जति बेला पनि यो दुनियाँमा नरहन सक्छौं। मैले माया गर्ने छोरी औराका लागि र मलाई माया गर्ने शुभेच्छुकको सम्झनाका लागि केही छाडेर जाऊँ भन्नका लागि यो कविता संग्रह आएको हो,' अभिनेता कोइरालाले विमोचन समारोहमा बोल्दै भने। उनले आफैँले लेखेका कविता सामाजिक सञ्जालमा अरूले राखेर लाइक गरिरहनु परेको अवस्था चिर्नका लागि पनि संग्रह निकालेको बताए।
पुस्तकको कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र प्रकाशक साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले विमोचन गरेका थिए।
पाश्र्व संगीतसहित कविता वाचनको शृंखलासहित सम्पन्न कार्यक्रममा कवि विप्लव प्रतीकले अभिनेता कोइरालालाई अमेरिकाको ड्यालसमा भेटेको स्मरण गर्दै संग्रहमा रहेका कविता र आवरणको तारिफ गरेका थिए। उनले संग्रहमा रहेका केही कविताको वाचन गर्दै कविता हतारमा नभई समय लिएर पढ्ने साहित्य भएको बताएका थिए।
'यो कवितामा १ सय ११ वटा कविता छन्। यी कवितालाई कम्तिमा यति दिन नै लगाएर पढ्नुहोस् भन्ने मेरो सुझाव छ। किनकि राजका कविता छोटा छन् तर प्रभावशाली छन्,' उनले ठट्टा गर्दै अगाडि थपे, 'यो दुनियाँमा कवि नै यस्तो प्राणी होला जसलाई देश, समाज, मान्छे सबको चिन्ता छ। उनका कवितामा चिन्तासँगै शिल्प र दर्शनको बेजोग संगम भेट्न सकिन्छ।'
निर्देशक दीपाश्री निरौलाले राजबल्लभ अभिनयमा मात्र नभएर कविको रूपमा पनि परिपक्व भएको प्रमाण कविता संग्रह रहेको बताउँदै फिल्ममा निरन्तर देखिन सुझाव दिएकी थिइन्। कार्यक्रममा दिलभुषण पाठकले संग्रहभित्र समेटिएका केही कविता वाचन गर्दै कविताले समयको कथालाई दुरुस्त उतारेको टिप्पणी गरेका थिए। प्रकाशकको तर्फबाट बोल्दै अश्विनी कोइरालाले लामो मेहनतपछि संग्रह तयार भएको जनाउँदै राजले कविता संग्रहमार्फत् साहित्यिक वृत्तमा दमदार उपस्थिति जनाएका बताए।
शब्द मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकको मूल्य ४५० रुपैयाँ रहेको छ। विमोचन कार्यक्रममा एसएमटी ग्लोबलको पनि सहकार्य रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० माघ २०८१, ११ : ५३
लेखकबाट थप