बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, १३ : ४६
बैंकिङ प्रणालीबाट ४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले उक्त रकम बजारबाट तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार विभिन्न शर्तसहित २१ दिनका लागि निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे आह्वान गरिएको छ । जसको साँवा तथा ब्याज भुक्तानी समय आगामी फागुन ४ गतेका लागि तोकिएको छ ।

बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म रहेको छ । धितोसम्बन्धी व्यवस्थामा यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोकोरुपमा प्रयोग गर्न सकिने भएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस