काठमाडौं । आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।मलेसियाको बांगीमा नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन् ।
बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको थियो ।
नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन् । सिमाना केसी १०, सावित्री धामी १, कप्तान पूजा महतो २, किरण कुँवर १, अलिशा यादव ४, तिर्सना विक ३ र रचना चौधरी ३ रनमा आउट भए । सोनी पाख्रिन र अनु कडायत शून्य रनमा आउट भए । रिया शर्मा ५ रनमा अविजित रहेकी थिइन् ।
बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन् । नेपालका ५ खेलाडी रन आउटको शिकार भएका हुन् । नेपालले अब दोस्रो खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ माघ २०८१, १५ : १९
लेखकबाट थप