भूकम्पपछिको उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सिको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २३ पुस २०८१, १५ : २६
भूकम्पपछिको उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सिको आग्रह

काठमाडौं। चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ७ रेक्टर स्केलको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्रयास गर्न निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले महत्त्वपूर्ण निर्देशन दिँदै घाइतेहरूको उद्धार र उपचारका लागि सक्दो प्रयास गर्न माग गरेका हुन् ।

 

साथै, उनले प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न पनि आग्रह गरे । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा प्रधानमन्त्री ली छ्याङले मङ्गलबार उद्धार कार्य सञ्चालन गर्न आह्वान गरेका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्र चिसो पठार क्षेत्रमा पर्ने भएकाले प्रभावित जनताको आधारभूत जीविकोपार्जनको सुनिश्चितता र जाडोमा न्यानो रहनका लागि हरसम्भव उपाय अपनाउनुपर्ने बताए ।

 

 

 

 

 

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य उपप्रधानमन्त्री झाङ गुओ छिङले भूकम्प गएको ठाउँमा टोलीको नेतृत्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस